नेपालगञ्ज, २६ कात्तिक । कांग्रेस सभापति सुशील कोइरालाले प्रत्येक समुदाय र वर्गको अधिकारलाई समेटने गरी नयाँ संविधान निर्माण गर्न आफूप्रतिबद्ध रहेको बताएका छन् ।
बाँके क्षेत्र नम्वर ३ अन्तर्गत नेपालगञ्ज–१३, आदर्शनगरमा आज (मंगलबार) अछामी समाजका प्रतिनिधिहरुसँगको भेटमा कोइरालाले कांग्रेसले लोकतान्त्रिक नयाँ संविधान दिने बताए ।
‘अब पनि कसैले जनताको लोकतान्त्रिक अधिकारसँग खेलबाड गर्यो भने उसको अस्तित्व समाप्त हुन्छ,’ उनले भने ।
उनले मुलुकलाई नयाँ लोकतान्त्रिक संविधान र कानून शासनका लागि कांग्रेसले पहल गर्ने बताए ।
‘भोटका लागि झुठो कुरा गरेर जनतालाई कांग्रेसले कहिल्यै भ्रममा राख्दैन,’ सभापति कोइरालाले भने, ‘म तपाईंको टोलमा सडक बनाइदिन्छु, नाली बनाइदिन्छु, छोराछोरीलाई नोकरीमा लगाइदिन्छु भनेर भोट माग्दिन ।’
उनले निर्वाचनपछि गठन हुने संविधानसभाले पहिलो छ महिनामा संविधानको मस्यौदा तयार गर्ने दोहर्याए । उनले एक वर्षभित्र संविधान जारी गर्ने पनि उल्लेख गरे ।
प्रतिक्रिया