नुवाकोटमा कांग्रेस नेता केसी माथि बम प्रहार

Arjun-Narasing-Kcनुवाकोट, २६ कात्तिक । कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुन नरसिंह केसी सवारी सवारी साधनलाई लक्षित गरेर पेट्रोल बम प्रहार भएको छ ।

गृह जिल्ला नुवाकोटको विदुरमा आज (मंगलबार) आयोजित कांग्रेसको चुनावी आमसभामा सहभागी हुन जाने क्रममा केसी चढेको सवारी साधनमा अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । मोटर साईकलमा आएका दुई जनाको समूहले बम प्रहार गरेको हो ।

स्थानीय ३५ किलो भन्ने स्थानमा केसीलाई लक्षित गरी पेट्रोल बम प्रहार भए पनि उनलाई लागेन । पेट्रोल बम कांग्रेस कार्यकर्ता चढेको बा. ५ च ६२५३ नम्वरको भ्यानमा लागेको थियो । बमका विष्फोट भएपछि गाडीको सिसा समेत फुटेका छन् ।

त्यसै गरी, खोटाङमा एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेका छन् । खोटाङबजारमा सोमबार आयोजित चुनावी सभा सकेर राति स्थानीय कुमार उदासको घरमा बसिरहेका बेला एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ ।

उता, पर्वतमा चुनावी प्रचार प्रसारमा रहेको कांग्रेसको टोली माथि एमालेका कार्यकर्ताले आक्रमण गरेका छन् । क्षेत्र नम्वर २ को खानीगाउँमा सोमबार राति एमालेका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसले जनाएको छ ।

गाउँ ईकाई सभापति हीरामणि सापकोटाको घरमा बास बसेका बेला एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणमा कांग्रेस जिल्ला सभापति लालकाजी गुरुङ र उम्मेदवार नवराज गुरुङसहितको टोली परेको हो । आक्रमणमा दलित संघ पर्वतका जिल्ला अध्यक्ष जीतबहादुर नेपाली घाइते भएका छन् ।

एमाले पर्वत क्षेत्र नम्वर २ का उम्मेदवार विकास लम्सालको निर्देशनमा आक्रमण भएको कांग्रेसको आरोप छ । एमालेका कार्यकर्ताले कांग्रेस कार्यकर्ता सवार ४ वटा जीपमा क्षति पुर्‍याई दिएका छन् ।

उता, नुवाकोटमा एमाओवादी र कांग्रेसका कार्यकताबीच झडप भएको छ । क्षेत्र नम्बर ३ मा सोमबार राति झडप हुँदा दुवै तर्फका कार्यकर्ता घाईते भएका छन् ।

सामरी भज्याङ गाविसको मैवुल गाउँमा ४ वटा मिनी ट्रकमा आएका एमाओवादीका कार्याकर्ताहरु कुटपीटमा उत्रिए पछि झडप भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया