धनगढी, २६ कात्तिक । कांग्रेस नेता शेरबहादुर देउवाले संविधानसभा चुनाव पछि आन्दोलनरत नेकपा–माओवादीलाई समेटेर जाने बताएका छन् ।
धनगढीमा आज (मंगलबार) पत्रकारसँग कुरागर्दै नेता देउवाले नेकपा–माओवादीका भावनालाई नयाँ संविधानमा राख्न कांग्रेसले पहल गर्ने बताए । ‘नेकपा–माओवादीलाई समेटेर लैजाने कुरामा पहिला नै एमाले र एमाओवादीले असहमति जनाएका कारण समस्या भएको हो,’ उनले भने, ‘यस्तो गल्ती फेरि दोहरिनु हुँदैन ।’
उनले एमाओवादी र एमालेका यस्ता खालका गल्तीलाई आगामी दिनमा कांग्रेसले गम्भीर रुपमा ध्यान दिने बताए । नेता देउवाले नेकपा–माओवादीलाई पनि हिंसात्मक गतिविधि नगर्न आग्रह गरे ।
सुदूरपश्चिमका जनताले आफूलाई जिताउनेमा विश्वस्त रहेको बताएका नेता देउवाले भने, ‘सुदूरपश्चिमका जनताले मलाई नै जिताउनेमा ढुक्क छु ।’
प्रतिक्रिया