काठमाडौं, २६ कात्तिक । दोस्रो संविधानसभा चुनावको मिति ४ मंसिर नजिकिँदै गर्दा चुनाव बिथोल्ने लाइनमा रहेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाविरुद्ध सरकार आक्रामक बन्न थालेको छ । चौतर्फी दबाबपछि १० दिने आमहडताललाई एक दिनमा झारी आजदेखि यातायात बन्द मात्र गराउने निर्णय गरेको ३३ दलीय मोर्चा भने रक्षात्मक अवस्थामा देखिएको छ ।
सोमबारको एकदिने आमहडतालका क्रममा मोर्चा रक्षात्मक र सरकार आक्रामक देखिएको हो । चुनावको विरोध गर्नेलाई ‘अन द स्पट’ पक्राउ गर्न निर्देशन दिएको सरकारले सोमबार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै म्यादी प्रहरीलाई समेत सडकमा उतारेको थियो । प्रदर्शनकारी भने विगतमा जस्तो चोक–चोकमा बसेर बन्द गर्न छाडी छापामार शैलीमा प्रस्तुत भए ।
सरकारले बन्द खुलाउन सबै संयन्त्र प्रयोग गरे पनि बन्दको प्रभाव भने देशभर परेको थियो । राजधानीलगायत देशका मुख्य सहर तथा जिल्ला सदरमुकामहरूमा प्रहरीले एउटा बसमा ४ जना सुरक्षाकर्मी राखेर यातायात चलाएको थियो । बन्दमा आंशिक रूपमा सवारीसाधन चले पनि उद्योग, कलकारखाना, शिक्षण संस्था ठप्प रहे ।
राज्यका सबै सुरक्षा संयन्त्र सडकमा आएपछि बन्दकर्ता भने पहिलेजस्तो झन्डा लिएर चोक–चोकमा उत्रिन छाडी पूरै छापामार शैलीमा बन्द गराउन बाध्य भएका थिए । सो क्रममा उनीहरूले बन्द अवज्ञा गरेर चलाउने सवारीसाधनमाथि ठाउँ–ठाउँमा आक्रमण गरेका थिए । बन्दकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि बन्दकर्ता भने लुकीछिपी बन्दको अवज्ञा गर्ने सवारीसाधन तोडफोडमा उत्रिएका थिए ।
प्रहरीले सोमबार देशभरबाट ८० बन्दकर्तालाई नियन्त्रणमा लिएको छ । आमहडताल सफल पार्ने नाममा जबर्जस्ती बन्द गराउँदै हिँडेका ८० बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ८० मध्ये ३७ जना उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा परेका हुन् । उनीहरूलाई स्थानीय प्रशासनले छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाही अगाडि बढाउने प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए । सरकारले सोमबारको बन्दलाई ध्यानमा राख्दै मंगलबारदेखि अझै सक्रियताका साथ सुरक्षा परिचालन गर्ने तयारी गरेको छ ।
३३ दलीय मोर्चाका संयोजक देव गुरुङले भने सरकारले सम्पूर्ण राज्यशक्तिको दुरुपयोग गरेर दमन तथा धरपकड गरे पनि आमहडताल ‘शान्दार रूपमा सफल’ भएको प्रतिक्रिया दिएका छन् । नेता गुरुङले विज्ञप्तिमार्फत बन्दका क्रममा गिरºतारमा परेका आºना नेता तथा कार्यकतालाई तत्काल विनासर्त रिहा गर्न पनि माग गरेका छन् ।
गृह मन्त्रालयले भने बन्दको न्यून प्रभाव परेको जनाएको छ । गृहले विज्ञप्तिमार्फत चुनावविरोधी केही राजनीतिक दलद्वारा गरिएको आमहड्ताललाई निस्तेज पार्ने उद्देश्यले सुरक्षाकर्मीको समन्वयात्मक, योजनाबद्ध र सघन परिचालन गरिएकाले बन्दको प्रभाव न्यून मात्र परेको जनाएको हो । मुलुकभर बजार, यातायातलगायत सार्वजनिक सेवाहरु सुचारु भएको र जनजीवन सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
तोडफोड, आगजनी र बमको आतंक
बन्दकर्ताले काठमाडौं, भक्तपुर, झापा र दोलखा जिल्लाका विभिन्न स्थानमा लुकिछिपी ११ वटा सवारीसाधनमाथि तोडफोड तथा आगजनी गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रसुवा, महोत्तरी, नुवाकोट, काठमाडौं, चितवन, कपिलवस्तु, अर्घाखााची, इलाम, काभ्रेपलाञ्चोक, कैलाली, गुल्मी, झापा, दोलखा, धनुषा, पर्सा, बारा, भोजपुर, मकवानपुर, ललितपुर, सल्यान, सिरहा र पााचथर जिल्लाका विभिन्न सात स्थानमा विस्फोटक पदार्थ तथा २६ स्थानमा विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेकामा नेपाली सेनाले निष्क्रिय पारेको थियो ।
मोर्चाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै सोमबार बिहानै दोलखा र भक्तपुरमा २/२ वटा सवारीसाधनमा आगजनी गरेका थिए । बन्दकर्ताले मोरङ, सुनसरी धरान र म्याग्दीमा १/१ वटा र उपत्यकाका विभिन्न ठाउँमा ४ वटा सवारीसाधन तोडफोड गरेका थिए । काठमाडौंको बानेश्वरमा पार्किङ गरेर राखेको बा.४च २४३२ नम्बरको गाडीमा आगजनी भएको छ । दोलखाको भीमेश्वरमा बा.२ ख ६५६४ र बा २ ख १८०६ नम्बरको गाडीमा पनि आगजनी भएको प्रहरीले जनाएको छ ।
बन्दको अवज्ञा गर्दै चितवनमा भने एमाओवादी कार्यकर्ताले मोटरसाइकल र्याली निकालेका थिए ।
बन्दका क्रममा देशका विभिन्न ठाउँमा बम विस्फोट तथा शंस्कास्पद वस्तुहरू फेला परेका छन् । सोमबार साँझ काभ्रेको उग्रतारा जनागल गाविस भवन पछाडि शक्तिशाली सिलियर बम विस्फोट भएको छ । त्यहा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । उदयपुर सदरमुकाम गाईघाट परिसरमा पनि बिहान ४ वटा बम विस्फोट भएको छ । पांचथर सदरमुकाम फुङलिङको तोक्मेडाडामा एमाओवादीको आमसभास्थलमै खतरनाक बम विस्फोटको प्रयास भएको सुरक्षाकर्मीले जनाएका छन् । यसका साथै देशका विभिन्न ठाउँमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
विभिन्न ठाउँमा बम विस्फोट तथा शंस्कास्पद बस्तु राख्ने क्रम बढेर गए पनि यसको जिम्मा भने अहिलेसम्म कसैले पनि लिएको छैन ।
प्रतिक्रिया