काठमाडौं, २५ कात्तिक । दोस्रो संविधानसभा चुनाव बिथोल्ने लाइनमा रहेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा पूर्वघोषित आन्दोलनका कार्यक्रमबाट पछि हटेको छ । माओवादी मोर्चाले पूर्वघोषित १० दिने आमहडताल घटाएर आज एक दिनमा झारेको छ । ४ मंसिरको चुनावलाई लक्ष्य गरी मोर्चाले यसअघि २५ कात्तिकदेखि ५ मंसिरसम्म १० दिने आमहडतालको घोषणा गरेको थियो ।
मोर्चाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २५ कात्तिकमा एक दिन आमहडताल गर्ने, २६ कात्तिकदेखि ४ मंसिर बेलुका ५ बजेसम्म भने २४ सैं घन्टा यातायात हड्ताल गरिने जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट आमहडताल फिर्ता लिन दबाब बढेपछि मोर्चा पूर्वघोषित आन्दोलनका कार्यक्रमबाट पछि हट्न पुगेको हो । मोर्चाले भने विभिन्न समुदायको सुझावलाई समेत ध्यानमा राखी चुनाव बहिस्कार कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउन आन्दोलनको स्वरूपमा परिमार्जन गरिएको जनाएको छ ।
मोर्चाले आमहडताल तथा यातायात हड्तालका क्रममा एम्बुलेन्स, रेडक्रस, हस्पिटलका गाडी, शववाहन, फोहर बोक्ने गाडी, पानी बोक्ने गाडी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडीहरू, रिक्सा, साइकल र ठेलागाडाबाहेक सम्पूर्ण यातायातको चक्काजाम गर्ने जनाएको छ ।
चुनाव बहिष्कार गर्ने वा भाग लिने दुवै लोकतान्त्रिक तथा मौलिक अधिकार भएको उल्लेख गर्दै मोर्चाले राज्यले बहिष्कार आन्दोलनविरुद्ध दमन–धरपकड, झुठा मुद्दा र धम्की दिंदै आतंक सिर्जना गर्न खोजेको आरोप लगाएको छ । मोर्चाले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहा गर्न मागसमेत गरेको छ ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दली मोर्चाको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मोर्चाका कार्यदल संयोजक देव गुरुङले दलका नेताहरू जिम्मेवार नभए देशमा ठूलो दुर्घटना हुने चेतावनी दिए । आफूहरू आन्दोलनबाट पछि हटेको नभएर आन्दोलनको स्वरूप मात्र परिवर्तन गरेको नेता गुरुङको भनाइ थियो । उनले विपक्षीलाई थुनेर गरिने चुनावले तानाशाही मात्र जन्मने जिकिर गर्दै चुनावको प्रतिकार गरेरै छाड्ने अडान दोहोर्याए ।
मोर्चाले अन्तर्राष्ट्रिय समुदायको तर्फबाट संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि तथा समन्वयकर्ता जिमी म्याक गोल्डरिकले जारी गरेको विज्ञप्तिले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विरोधसमेत जनाएको छ । आन्तरिक मामिलामा हस्तक्षेप नगर्न राष्ट्रसंघलाई मोर्चाले चेतावनीसमेत दिएको छ । राष्ट्रसंघीय अधिकारीले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी अभिव्यक्ति दिनु लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको भन्दै मोर्चाले आपत्ति प्रकट गरेको हो ।
राष्ट्रिय सहमतिका लागि चुनाव स्थगनको माग गर्दै आएको मोर्चाले त्यसलाई दोहोर्याएको छ । ‘राजनीतिक निकासका निम्ति संवाद र सहमतिको मार्ग अवलम्बन गर्दै राष्ट्रिय राजनीतिक सहमति कायम गर्न चुनावी कार्यक्रम स्थगन गरी सहमतिको मार्गमा अगाडि बढ्न सरकार, चार दल, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाजलगायत सबैमा मोर्चा फेरि पनि हार्दिक आग्रह गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया