‘ठूला नेता पराजित हुँदै छन्, सूचना पाएको छु’

Puspakamal-Dahalपोखरा, १५ कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंसिर–४ को संविधानसभा निर्वाचन रोक्न सम्भव नरहेको दोहर्‍याएका छन् ।

पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा–माओवादीले भने जस्तो चुनाव स्थगन नहुँने बताए । ‘निर्वाचन सार्न सम्भव छैन,’ उनले भने ।

दाहालले संविधानसभामा नेकपा–माओवादीलाई मनोनित गरेर ल्याउन सकिने बताए । ‘समझदारीमा मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ सिट विपक्षमा रहेका दलहरुलाई दिन सकिन्छ,’ उनले भने, ‘उनीहरुले उठाएका एजेण्डा सम्बोधन गर्न यो मात्रै विकल्प छ ।’

उनले नयाँ संविधान बनाउन छ महिना मात्रै सहमतिका निम्ति प्रयास गर्ने बताए । उनले सो सो समयमा सहमति हुन नसके मतदान प्रक्रियाबाट संविधान जारी गर्ने उल्लेख गरे ।

अध्यक्ष दाहालले आफूलाई हराउन अधिकांश पार्टीहरु मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । ‘मलाई हराउन गरिएको मोर्चा बन्दीले कसैलाई फाइदा हुँदैन,’ उनले भने, ‘अरु दलका ठूला नेताहरु पनि हार्दै छन् भन्ने सूचना पाएको छु ।’

दाहालले आचारसंहिता पालना गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘मिल्दा सम्म गाडी प्रयोग गरेको छु,’ उनले भने, ‘नमिल्ने ठाउँमा मात्रै हेलिकप्टर प्रयोग भएको छ ।’ आचार संहिता उलंघन गरेको भन्दै आयोगले बिहीबार दाहाललाई पत्र पठाई त्यसो नगर्न सचेत गराएको थियो ।

प्रतिक्रिया