उम्मेदवारी दर्ता शान्तिपूर्ण

electionकाठमाडौं, १८ असोज । ४ मंसिरमा हुने संविधानसभाको दोस्रो चुनावका लागि बिहीबार राजनीतिक दलहरूले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार मुलुकभर नै उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

नेकपा–माओवादी नेतृत्वमा रहेको ३३ मोर्चामा आबद्ध दलले केही जिल्लामा अवरोध पुर्‍याउन खोजे पनि उम्मेदवारी दर्तामा केही असर नपरेको आयोगले जनाएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन र चुनावी प्रक्रियाप्रति असन्तुष्ट माओवादीलगायत दलले चुनाव बहिष्कारका साथै बिथोल्ने रणनीतिसमेत लिएका छन् । यसअघिको चुनावी कार्यक्रमअनुसार उम्मेदवारी मनोनयनलाई नै असर गर्ने गरी माओवादी मोर्चाले बन्द आह्वान गरेको थियो ।
आयोगले मनोनय दर्तालाई एक साता पर सारेपछि स्थगित गरे पनि बिहीबार मोर्चामा आबद्ध मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले बन्द आह्वान गरेको थियो भने अन्य जिल्लामा माओवादी कार्यकर्ताले अवरोध पुर्‍याउन खोजेका थिए ।
आयोगले सार्वजनिक गरेको चुनावी कार्यक्रमअनुसार बिहीबार बिहान १० बजेदेखि ५ बजेसम्म सबै जिल्लाका सदरमुकाममा रहेका निर्वाचन अधिकृतको कार्यालयमा तीन हजार रुपियाँ धरौटी राखेर उम्मेदवारको मनोनयन दर्ता गराउनुपर्ने व्यवस्था थियो । सोही कार्यक्रमअुनसार मुलुकभर नै उम्मेदवारले मनोनयन दर्ता गराएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।
प्रवक्ता राईका अनुसार काठमाडौंमा मात्र विभिन्न दलका ३ सय ७३ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, मोरङमा २ सय ७४, कपिलवस्तुमा २ सय १४, सुनसरीमा २ सय २७, सोलुमा १२, खोटाङमा २४, मुस्ताङमा ७, म्याग्दीमा १५, उदयपुरमा ७०, धादिङमा ७४, तनहँुमा ४९, बाँकेमा १ सय १६, मुगुमा २०, जुम्लामा १०, सर्लाहीमा २ सय ६५, बारामा २ सय ४८, कैलालीमा १ सय ५८, सुर्खेतमा ५२ र कास्कीमा ८० जनाले उम्मेदवारी दिएका छन् । सबै जिल्लामा परेका उम्मेदवारको नामावली शुक्रबार सार्वजनिक गर्ने राईले जानकारी दिए ।
आयोगमा दल दर्ता गराउने राजनीतिक दलको संख्या १ सय ३० छ । १७ गते प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता भएको सूची आयोगले १८ गते प्रकाशन गर्ने कार्यक्रम छ । प्रत्यक्षतर्फका उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम आयोगले १९ असोजलाई तोकेको छ । त्यसैगरी, प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली २३ असोजमा प्रकाशन गर्ने र २४ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
त्यस्तै, समानुपातिक प्रणालीमा भाग लिनका लागि पेस गरेका राजनीतिक दलको नामावली भने आयोगले १६ गते नै प्रकाशित गरिसकेको छ । समानुपातिकमा भाग लिनका लागि १४ गते आयोगमा १ सय २४ दलहरूले निवेदन दिएका थिए । आयोगले १८ गतेसम्म समानुपातिक चुनावमा भाग लिने राजनीतिक दलको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका बनाएको छ । समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीलाई आयोगले ६ कात्तिकमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया