नुवाकोट एमालेमा चुनावी माहोल

नुवाकोट, ८ असोज । नेकपा एमाले नुवाकोटले ४० जनाको नाम उम्मेदवारको लागि केन्द्रमा सिफारिस गरेको छ । नेकपा एमाले केन्द्रीय कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा तीन जना र समानुपातिकमा पाँच जनाको नाम सिफारिस गर्न निर्देशन दिएको भए पनि पार्टीभित्र सहमति नभएपछि एमालेले सबैको नाम सिफारिस गरेको हो ।

क्षेत्र नंं. १ मा प्रत्यक्षतर्फ राजेन्द्रप्रकाश लोहनी, केशव पाण्डे, विन्दा नेपालसहित ६ जना र समानुपातिकतर्फ विष्णु लोहनी, जितबहादुर बलामी, मंगलमाया प्रजापती, सानुमाया तामाङ, यादव घलेसहित आठ जनाको नाम सिफारिस भएको छ । यो क्षेत्रमा लोहनीले टिकट पाउने करिब निश्चित जस्तै छ । आर्थिक क्षेत्रमा पनि अनुभव सम्हालेका र यो अघिल्लो संविधानसभामा विजय हासिल गरिसकेको लोहनीले टिकट पाउने निश्चित भएको एमाले स्रोतले बतायो । विद्यार्थी कालदेखि नै लोहनी निकै लोकप्रिय रहँदै आएका छन् ।
त्यसैगरी क्षेत्र नं. २ मा प्रत्यक्षमा वद्री मैनाली, केपी लामिछाने र शोभा श्रेष्ठको नाम सिफरिस भएको छ । क्षेत्र नं. २ को समानुपातिकतर्फ विन्दा ढुंगाना, गोकर्ण पाठक, बाबुराम लामा, सुरज शेर्पा, अर्जुन श्रेष्ठसहित १५ जना सिफारिस गरिएको छ ।
क्षेत्र नं. ३ मा प्रत्यक्ष महेन्द्रबहादुर पाण्डे, नारायणप्रसाद खतिवडा र श्रीमाया लामाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ शम्भु लामा, छत्र तामाङ, मेन्चुङ लामा, श्यामसुन्दर श्रेष्ठ र दिलबहादुर राईलाई सिफारिस गरिएको छ । यो क्षेत्रमा पाण्डेले टिकट पाउने संभावना बढी रहेको बताइएको छ ।

प्रतिक्रिया