एक हप्तापछि अस्पतालको ताला खुल्यो, बुधबारबाट काम सुरु

जाजरकोट, ३० जेठ । विभिन्न रोगको संक्रमण बढिरहेका बेला जिल्ला अस्पताल डाक्टरविहीन भएपछि स्थानीयले गरेको तालाबन्दी एक सातापछि खुलेको छ ।

नागरिक सरोकार समिति र उपभोक्ता हकहित संरक्षण मञ्चले विभिन्न पाँच बँुदे माग राख्दै गत बिहीबारदेखि जिल्ला अस्पताल जाजरकोटमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए । मंगलबार जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले दश दिनभित्र जिल्लामा डाक्टर ल्याउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि ताला खोल्ने निर्णय भएको सरोकार समितिका पौखर मल्लले जानकारी दिए ।
समितिले अस्पतालको प्रशासनिक कक्ष, कार्यालय प्रमुखको कार्यकक्ष र लेखाफाँटमा गरी तीनवटा ताला लगाइएको थियो । तत्काल प्रसाशनिक कामकाज सुचारु गर्न प्रशासनले बैठक बोलएको थियो । मंगलबारको बैठकमा ताला खोल्ने निर्णय भए पनि कामकाज भने बुधबार बिहानबाट सुरु भएको छ ।
दश दिनसम्म डाक्टरको व्यवस्थासहित आफ्ना पाँचबुँदे माग पूरा नभए फेरि अनिश्चितकालीन तालाबन्दी गरिने नागरिक समाजका अध्यक्ष केशवजंग शाहले चेतावनी दिए । समितले मेडिकल सुपरिटेन्डेन्टसहित पाँचै डाक्टरको तत्काल पदपूर्ति हुुनुपर्ने, जिल्ला अस्पतालमा अप्रेसन थिएटरको व्यवस्था हुनुपर्ने, टेलिमेडिसिन, भिडियो एक्सरे, एक्सरे, इसिजीलगायत सेवा तत्काल सुचारु हुनुपर्ने, जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा खाली रहेको दरबन्दी तत्काल पदपूर्ति गरिनुपर्ने र जिल्लाबाहिर काजमा रहेका स्वास्थ्यकर्मीको तत्काल काज फिर्ता गर्नुपर्ने माग यथावत् राखेको थियो ।
बैठकमा जिल्ला स्वास्थ्य समितिले जिल्ला अस्पतालको स्तरोन्नतिका विषयमा कुनै काम गर्न नसकेको तर जिल्लाको आन्तरिक कोषवाट तलब खुवाइने कर्मचारीको तलब वद्धि गर्ने काम मात्र गरेको स्थानीयको आरोप छ ।
यस्तै, जिल्ला अस्पताल मातहतमा रहेको एम्बुलेन्सलाई व्यवस्थित सञ्चालन गर्ने विषयमा कुनै ध्यान नदिएको, बिरामी बोक्दा प्राइभेट गाडीमा भन्दा अस्पतालको एम्बुलेन्समा बढी खर्च लाग्ने भएको विषयमा पनि जिल्ला स्वास्थ्य समितिले ध्यान दिन नसकेको कानुन व्यवसायी एवं उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष छविप्रसाद शर्माले बताए ।
स्वास्स्थ्यजस्तो संवेदनशील विषयमा राज्य उदासीन बनेको नागरिक अगुवाको आरोप छ ।

प्रतिक्रिया