‘नतिजा खस्किनुमा शिक्षक दोषी’

teacherकाठमाडौं, ३० जेठ । शिक्षकहरूका कारण पाँच वर्षयता एलएसलीको नतिजा खस्कँदै गएको सरोकारवालाले बताएका छन् । वार्षिक ६५ अर्ब रुपियाँ शिक्षा क्षेत्रमा लगानी गरे पनि उत्तीर्ण प्रतिशत दर हेर्दा त्यो बालुवामा पानी खन्याएसरह भएको उनीहरूको भनाइ छ ।

विद्यालय थपिँदै जाने तर शिक्षक नथपिने र माथिल्लो तहमा तल्लो तहका शिक्षकले पढाउने भएका कारण नतिजा कमजोर हुँदै गएको शिक्षा मन्त्रालयका अधिकारीको भनाइ छ । अहिलेको एलएलसीको नतिजा हेर्दा सात वर्षकै कम उत्तीर्ण भएका छन् । २०६५ सालमा ६८ दशमलव ४७ प्रतिशत परीक्षार्थी उत्तीर्ण रहेको एसएलसी नतिजा प्रत्येक वर्ष झर्दै हाल ४१ दशमलव ५७ मा पुगेको हो ।
एलएलसीको नतिजा खस्कँदै गएपछि सरकारले १० वर्षअघि केदारभक्त माथेमाको संयोजकत्वमा अध्ययन टोलीसमेत गठन गरेको थियो । टोलीले नतिजा खस्कनुमा शिक्षकहरूले कक्षामा राम्रोसँग नपढाउनु, गृहकार्य नदिनु कमजोर विद्यार्थीलाई छुट्टै अध्ययन नगराउनुजस्ता कारण देखाउँदै सरकारलाई डेढ वर्षपछि प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन कार्यान्वयन गर्नतर्फ मन्त्रालय अग्रसर भएन । प्रतिवेदन कार्यान्वयन गरेको भए
यसरी नतिजमा गिरावट नआउने ज्ञिहरूको दाबी छ ।
एलएसलीको परीक्षाफल खस्कनुमा शिक्षकको अध्यापन क्षमता र नतिजा सुधारोन्मुख बनाउनेतर्फ ध्यान नदिनु मुख्य कारण बताइएको थियो । शिक्षककै पढाउने शैलीका कारण बढी अनुत्तीर्ण भएको सरोकारवालाको भनाइ छ ।
शिक्षा मन्त्रालयका सचिव सोमलाल सुवेदीले शिक्षकको कमजोरीका कारण प्रत्येक वर्ष उत्तीर्ण दर घटेको बताए । उनले धमाधम विद्यालयको स्वीकृत दिने र तल्लो तहका शिक्षकले माथिल्लो तहमा पढाउँदा नजितामा कमी आएको दाबी गरे । ‘स्कुलहरू थपिँदै गए तर शिक्षकहरू थपिएनन्,’ उनले भने, ‘अनि तल्लो तहका शिक्षकले पढाउँदा यस्तो नजिता आएको हो ।’
लोकतन्त्र आएपछि दुई वर्ष बढेको एसएलसीको नजिता फेरि २०६५ सालबाट ओरालो लाग्न थालेको छ । मन्त्रालयले नजिता प्रतिशत बढाउन ०६३ सालबाट कक्षा १० बाट मात्र प्रश्नपत्र सोध्ने गरेको थियो । तर, तीन वर्षसम्म उत्तीर्ण प्रतिशत बढेपछि पुन: खस्केको थियो । ०६३ मा ५८ दशमलव ६४, ०६४ मा ६३ दशमलव ६४ र ०६५ सालमा ६८ दशमलव ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
मन्त्रालयका प्रवक्ता महाश्रम शर्मा हालको परिवर्तित पाठ्यक्रमअनुसार शिक्षकले गुणस्तरीय पढाइ गर्न नसकेका कारण नतिजा प्रत्येक वर्ष खस्किरहेको जानकारी गराए । ‘ती शिक्षकले अहिलेको पाठ्यक्रमअनुसार पढाउन सकेनन् । उनीहरूको पढाउने शैलीमा पनि परिवर्तन गर्न सकिएन,’ उनले भने, ‘त्यही भएर विषयगत शिक्षकको अभावले नजिता क्रमश: कमी आउँदै गएको हो ।’
०६२ सालदेखि लगातार ४ वर्षसम्म उत्तीर्ण प्रतिशत बढेको थियो । ०६२ मा ४६ दशमलव ५१ प्रतिशत उत्तीर्ण भएका थिए भने ०६५ मा आइपुग्दा ६८ दशमलव ४७ प्रतिशत उत्तीर्ण भएका थिए । त्यसपछि एलएलसीको नजिता झनै ओरालो लाग्दै गएको छ । ०६६ मा ६४ दशमलव ९५ प्रतिशत, ०६७ मा ५५ दशमलव ९५ प्रतिशत र ०६८ मा ४७ दशमलव १६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए ।
शर्माले साना कक्षामा फेल नगरेर धमाधम उत्तीर्ण गराउँदा पनि यस्तो समस्या आएको जानकारी गराए । ‘हामीले साना कक्षामा विद्यार्थी नरोक्ने नियम बनायौँ । विद्यार्थी फटाफट उत्तीर्ण हुँदै गए,’ उनले भने, ‘साना कक्षामा फेल भएकालाई अतिरिक्त कक्षा दिएर उत्तीर्ण गराउनु पथ्र्यो, त्यो भएन । अहिले त्यसकै प्रतिफल एसएलसीमा कम पास भए ।’ परीक्षा मर्यादित भएर र पाठ्यक्रमबाट प्रश्न सोधेर पनि उत्तीर्ण प्रतिशत कम भएको बताइएको छ ।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षकको पढाउने शैलीकै कारण नतिजामा कमी आएको बताए । ‘विद्यालय तहमा शिक्षक नियुक्ति राजनीतिक दलले गर्छन्,’ उनले भने, ‘अनि ती शिक्षकले कसरी पढाउन जान्दछन् ? त्यस्तै शिक्षकले पढाएको नतिजा अहिलेको नजिता हो ।’
त्यसो त सरकारले एसएलसीको नजिता खस्कँदै गएपछि केदारभक्त माथेमाको संयोजकत्वमा गठित छानबिन समितिले सुधार गर्न केही सुझावसमेत दिएको थियो । तर, त्यसलाई कार्यान्वयन गर्नतर्फ मन्त्रालयले कुनै चासो दिएन । शिक्षाविद् मनप्रसाद वाग्लेले सुझाव कार्यान्वयन नगर्नुको परिमाण वर्षेनी विद्यार्थी उत्तीर्ण घट्दै गएको बताए । विद्यालय क्षेत्र सुधार कार्यक्रमअनुसार ०६९ मा ६९ प्रतिशतलाई उत्तीर्ण गराउने लक्ष्य राखिएको थियो । लक्ष्यअनुसार अहिले २७ दशमलव ४३ प्रतिशत उत्तीर्ण प्रतिशत कम हो ।
वाग्लेले नीति बनाए पनि कार्यान्वयन नगरेका कारण उत्तीर्ण प्रतिशत घटेको जानकारी गराए । शिक्षामा वार्षिक ६५ अर्ब रुपियाँ खर्च हुने गरेको छ । त्यसको ८५ प्रतिशत विद्यालय तहमा मात्र खर्च हुने गरेको छ । ‘१० वर्षमा साढे ५ खर्ब लगानी भएको छ । तर लगानीअनुरूप प्रतिफल आएन,’ उनले भने, ‘सुधार गर्नेतर्फ ध्यान नदिएका कारणले यस्तो भएको हो । के कारणले नतिजा घटेको हो, त्यो पत्ता लगाएपछि मात्र सुधार गर्न सकिन्छ ।’ वाग्लेले लगानीअनुसारको प्रतिफल पाउन राष्ट्रिय शिक्षा नीति बनाएर लागू गर्नुपर्ने बताए । प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले परीक्षा प्रणालीमा सुधार नआएकाले उत्तीर्ण प्रतिशत घटेको बताए । उनले वैज्ञानिक र व्यावहारिक परीक्षा–प्रणाली हुनुपर्नेमा जोड दिए ।

निजीको बढ्यो सामुदायिकको घट्यो
काठमाडौं : यस वर्षको प्रवेशिका परीक्षामा सामुदायिक विद्यालयको परीक्षाफल निजी विद्यालयभन्दा तीन गुना कम रहेको छ । मंगलबार प्रकाशित नतिजाअनुसार सामुदायिक विद्यालयका २७ दशमलव ९७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक खगराज बरालका अनुसार निजी विद्यालयको उत्तीर्ण प्रतिशत ८६ दशमलव ६८ रहेको छ । सामुदायिक विद्यालयको परीक्षाफल गत वर्षभन्दा ९ दशमलव २४ प्रतिशत कम हो । गत वर्ष सामुदायिकका ३६ दशमलव २४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यसैगरी निजी विद्यालयको उत्तीर्ण प्रतिशत बढेको छ । गत वर्ष ८५ दशमवल ७७ प्रतिशत उत्तीर्ण भएको निजीको अहिले झन्डै एक प्रतिशत नतिजा बढेको छ । यस वर्ष निजीबाट ८६ दशमलव ६८ प्रतिशत उत्तीर्ण भएका छन् । यद्यपि निजीका पनि गत वर्षभन्दा ३ प्रतिशत कम विद्यार्थी पास भएका छन् ।
एसएलसीमा ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक्जाम्टेडतर्फ ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फको परीक्षाफल गत वर्षको भन्दा ५ दशमलव ५९ प्रतिशत कम हो । गत वर्ष ४७ दशमलव १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
सरकारी विद्यालयका कुल परीक्षार्थी ३ लाख १० हजार ३ सय ३८ मध्ये ८६ हजार ८ सय ५ जना उत्तीर्ण भएको नियन्त्रक बरालले बताए । त्यस्तै, निजीतर्फ ९३ हजार ५ सय ५८ मध्ये ८१ हजार १ सय ३० विद्यार्थी उत्तीर्ण भएका छन् ।
विशिष्ट श्रेणी पनि सरकारी र निजीबीच धेरै नै अन्तर रहको छ । सरकारी विद्यालयबाट १ हजार २ सय १६ जनाले विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका छन् भने निजी विद्यालयमा १५ हजार ७ सय ८ जना विशिष्ट श्रेणीमा पास भएका छन् ।
त्यस्तै, सरकारी विद्यालयतर्फ प्रथम श्रेणीमा २३ हजार २ सय ७७ जना र निजीतर्फ ५२ हजार ८ सय ८८ जना उत्तीर्ण भएका छन् । यसैगरी द्वितीय श्रेणीमा सरकारीतर्फ ५७ हजार ४ सय ६३ र निजीतर्फ १२ हजार ३ सय ६७ जना उत्तीर्ण भएका छन् । सरकारी विद्यालयमा तृतीय श्रेणीमा ४ हजार ८ सय ४९ जना र निजीमा १ सय ६७ जना पास भएका छन् ।
पूरकमा झन्डै १ लाख १२ हजार
यसैगरी, एक लाख ११ हजार ९ सय ५८ जनाले पूरक परीक्षा दिन पाउने भएका छन् । पनिकाले दुई विषयमा अनुत्तीर्ण हुने विद्यार्थीलाई मौका (पूरक) परीक्षा दिने गरेको छ ।
नियन्त्रक बरालका अनुसार सबभन्दा बढी विज्ञान विषयमा विद्यार्थी फेल भएका छन् । त्यसपछि गणित, अंग्रजी र सामाजिकमा क्रमश: बढी फेल भएका छन् । विज्ञानमा मात्र ५५ हजार ५ सय ५४, गणित ५० हजार ३ सय २७, अंग्रेजीमा ३१ हजार ८ सय ९४ र सामाजिकमा २९ हजार ४ सय ३९ जना फेल भएका छन् ।
साउन २० देखि २७ गतेसम्म पूरक परीक्षा सञ्चालन हुनेछ । विज्ञान विषयमा घोकन्तेभन्दा तार्किक प्रश्नपत्र आएको हुनाले बढी फेल भएको नियन्त्रक बरालले बताए । ‘शिक्षकले घोकन्ते पढाएका थिए,’ उनले भने, ‘तर, प्रश्नपत्र बढी तार्किक आएका थिए । त्यसैमा विद्यार्थी अलमल परे अनि धेरै फेल भएका हुन् ।’

प्रतिक्रिया