धारामा पानी आउँदैन खोलाको भर

बाजुरा, २१ जेठ । बाजुराको वाई–८, फैतामा खानेपानीको हाहाकार भएपछि स्थानीयवासी खोलाको पानी प्रयोग गर्न बाध्य  भएका छन् । स्थानीय खानेपानी आयोजनाअन्तर्गत १० वर्षअघि निर्माण गरिएका धाराहरू जीर्ण बन्दै जाँदा स्थानीयवासीले पानी अभाव झेल्नुपरेको हो । खानेपानी नहँुदा एक सय ५० परिवार आधा घन्टाको दूरीमा रहेको खोलाको पानी खान बाध्य भएको स्थानीय ध्रुव कैलाले बताए ।
२०५५ सालमा केयर नेपाल नामक संस्थाले बनाएको खानेपानी आयोजना पाँच वर्षअघि नै भत्किँदा पनि सम्बन्धित निकायले पुनर्निर्माणमा चासो नदिँदा स्थानीयवासी पानीका लागि खोलामा भर परेका छन् । गाउँ परिषद्मा र अन्य निकायमा पटक–पटक निवेदन दिँदा पनि बेवास्ता गरेको स्थानीय बासिन्दाको गुनासो छ ।
जिल्लाकै सबैभन्दा विकट गाविसका रूपमा रहेको वाईमा बर्सेनी स्थानीयवासीलाई पानीको समस्याले सताउँदै आएको छ । पानी अभावमा शौचालय प्रयोगविहीन भएका छन् । खोलाको पानी प्रयोग गर्दा सर्वसाधारणलाई रुघाखोकी, झाडापखाला, आउँजस्ता रोग लाग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । खानेपानीको हाहाकार हुँदा निकै समस्या खेप्नुपरेको स्थानीय काशीराम थापाले बताए ।
जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय बाजुराले भने उक्त ठाउँमा पानीको हाहाकारबारे कुनै पनि जानकारी नआएको बताएको छ ।

प्रतिक्रिया