५ सय ४० विद्यालय सुर्ती र मदिरामुक्त गरिने

काठमाडौं : विश्व धूमपानरहित दिवसको अवसर पारेर प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले ५४ वटा जिल्लाका ५ सय ४० वटा विद्यालयलाई सुर्ती र मदिरामुक्त विद्यालय घोषणा गर्ने भएको छ ।
केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीका अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन र मदिरा नीतिले विद्यालयको १ सय मिटर वरपरसम्म सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि यस्तो गर्न लागिएको हो ।
उनका अनुसार ५४ वटा जिल्लामा रहेका स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालमार्फत यसवर्ष सुर्ती र मदिरामुक्त विद्यालय घोषणा गर्न लागिएको हो । विश्व धूमपानरहित कार्यक्रमको सन्दर्भ पारेर प्रत्येक जिल्लाका १० वटा विद्यालयलाई पहिलो चरणमा नमुना कार्यक्रमको रूपमा घोषणा गर्न लागिएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।
‘प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रसँग प्रत्यक्ष सम्बन्ध रहेका स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालका ५–५ जना विद्यार्थीलाई सुर्ती र मदिराको हानी तथा ऐन नियमका बारेमा दक्ष बनाई कार्यक्रम गरिनेछ’, कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रकी मञ्जुश्री महर्जनले भनिन् ।
सुर्तीे र मदिरामुक्त विद्यालय घोषणा कार्यक्रमका संयोजकसमेत रहेका महर्जनले भनिन्  ‘विद्यालय क्षेत्रबाट सुर्ती र मदिरा नियन्त्रण गर्ने कानुनी व्यवस्था कार्यान्वयन हुन नसक्दा भोलिका कर्णधारहरूको स्वास्थ्य र मनस्थितिमा गम्भीर असर परिरहेको छ ।’ उनका अनुसार विद्यालय तहबाटै सुर्ती र मदिराबाट विद्यार्थीलाई टाढा राख्न सकेको खण्डमा नियन्त्रण र नियमन गर्न सकिन्छ ।
छनोटमा परेका १० विद्यालयका ५० सहभागी अगुवा विद्यार्थीलाई सुर्ती र मदिराका हानी र असरबारे जानकारी दिइने केन्द्रका कार्यक्रम अधिकृत रीतु प्रधानले बताइन । उनका अनुसार ‘स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल’ बाट सुरुमा ‘सुर्ती तथा मदिरा नियन्त्रणमा विद्यार्थीको भूमिका’बारे अन्त्तरक्रियात्मक छलफल कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रममै विद्यार्थीहरूको अनुगमन समिति गठन गरिने केन्द्रकी सूचना अधिकृत चन्द्रकिरण श्रेष्ठले बताइन् । अन्तरक्रियापश्चात् विद्यार्थीको अगुवाइमा विद्यालयमा सुर्ती र मदिरामुक्त विद्यालयको बोर्ड टाँसिनेछ ।

प्रतिक्रिया