तत्काल चुनावकको मिति घोषणा गर्न माग

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको निर्वाचनको मिति यथाशीघ्र घोषणा गर्न माग गरेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आइतबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले देशलाई विद्यमान संकटबाट निकास दिन चुनावको विकल्प नरहेको बताए । छिटो मिति घोषणा गरी चुनाव सम्पन्न गर्नु देश र जनताको हितमा हुने उनले बताए ।
विगतमा ठूला दलको अकर्मण्यता, अदूरदर्शिता र आत्मसमर्पणवादी चिन्तनकै कारण अहिले राष्ट्रियता गम्भीर संकटमा परेको अध्यक्ष थापाले बताए । ‘कुनै राजनीतिक दलको शीर्षस्थ नेतृत्वबाट मुलुकको सीमानाका विषयमा जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति आउनु र सम्बन्धित पार्टीले त्यसको खण्डन नगर्नुले मुलुकको राष्ट्रियता कमजोर बनेको छ,’ अध्यक्ष थापाले भने । सबै विद्यार्थी र राष्ट्रवादी शक्तिलाई यस्ता विषयमा चनाखो हुन उनले आग्रह गरे ।
अध्यक्ष थापाले चुनाव सम्पन्न भएर त्यसको परिणाम नआउँदासम्म सबै राजनीतिक दलको एउटै हैसियत हुने जिकिर गरे । चार दलीय राजनीतिक समिति तत्काल खारेज गर्न उनले माग गरे । पार्टी केन्द्रीय सदस्य विष्णु भट्टराईले सरकारले मुलुकमा शान्तिसुरक्षा तथा विधिको शासन कायम राख्न नसकेको उल्लेख गर्दै आफ्नो पार्टी देश र जनताको पक्षमा सदैव क्रियाशील रहेको बताए ।

प्रतिक्रिया