दबाबपछि रोकियो स्वास्थ्यमा १२ तहको बढुवा

heltha-mantralayaकाठमाडौं, ८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वर्षदेखि खाली रहेको १२औँ तहको बढुवा प्रक्रिया चौतर्फी दबाब आएपछि फेरि रोकेको छ ।
मन्त्रालयले वैशाख तेस्रो साता सात वर्षदेखि खाली रहेको १२औँ तह (विशिष्ट श्रेणी) मा कर्मचारी बढुवा गर्ने प्रक्रिया सुरु गरेको थियो । मन्त्रालयमा सचिवबाहेक चार जना १२औँ तहका कर्मचारीको दरबन्दी छ । चारवटा पदको बढुवा गर्ने प्रक्रिया सुरु भएलगत्तै सो पदका लागि योग्यता पुगेका २३ जना ११औँ तहका कर्मचारीका तर्फबाट राजनीतिकदेखि प्रशासनिक दबाब आउन थालेपछि बढुवा प्रक्रिया रोकिएको मन्त्रालय स्रोतले जनाएको छ ।
‘सचिवसरहको उच्च तहमा मन्त्रालयअन्तर्गतका कर्मचारीलाई बढुवा गर्न लागेपछि ११औँ तहमा ५ वर्ष सेवा गरेका २३ वटै कर्मचारीले मन्त्रीदेखि सचिव र लोकसेवामा समेत राजनीतिक र प्रशासनिक दबाब दिन थालेका थिए,’ स्रोतले भन्यो, ‘बल्ल–बल्ल बढुवा गर्न लागेको पदमा समेत थेगिनसक्नु दबाब आएपछि मन्त्रालयले अहिलेलाई बढुवा प्रक्रिया नै रोकेको छ ।’ उनका अनुसार सिनियर कर्मचारीले भन्दा जुनियरले बढी दबाब दिएपछि बढुवाको काम केही समय स्थगन हुन पुगेको हो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको चिकित्सा सेवा महाशाखा, नीति तथा योजना महाशाखा र अनुगमन महाशाखाका प्रमुख तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक १२औँ तहका चिकित्सक हुने प्रावधान छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत ११औँ पदमा रही ५ वर्ष सेवा पूरा गरेका २३ जनामध्ये ४ जना १२औँ तहमा बढुवा हुनेछन् । यसका लागि बढुवा समितिले ६ जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तयारी गरेको थियो ।
लोकसेवा आयोगका अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य बढुवा समितिमा अध्यक्ष, मुख्यसचिव र विज्ञसहित ३ जना सदस्य र स्वास्थ्यसचिव समितिको सदस्य–सचिव रहने व्यवस्था छ । ऐनमा बढुवाको आधारको स्पष्ट व्यवस्था भए पनि कार्यसम्पादन, यसअघिको जिम्मेवारी, शैक्षिक योग्यता आदिका आधारमा बढुवा गर्न लागिएको भए पनि दबाब आएपछि रोकिन पुगेको स्रोतको भनाइ छ ।
मन्त्रालयमा ०६३ सालदेखि ती चारवटै पद रिक्त रहँदा महत्त्वपूर्ण जिम्मेवारी एघारौँ तहका कर्मचारीले सम्हाल्दै आएका छन् । मन्त्रालयले ०५९ सालमा गरेको बढुवाका आधारमा ०६३ सम्म १२औँ तहका कर्मचारी कार्यरत थिए । उनीहरूको अवकाशपछि हालसम्म १२औँ तहमा कर्मचारी बढुवा हुन सकेका थिएनन् । स्वास्थ्य मन्त्रालयको १२औँ पदमा अन्तिमपटक डा. विष्णु पण्डित रहेका थिए ।
मन्त्रालयको विशिष्ट श्रेणीको पद लामो समय रिक्त रहँदा पनि यसअघिका सचिवले बढुवा समितिको बैठक राख्न पहल नगरेको र पछिल्लो समयमा पहल हुँदा पनि लोकसेवा आयोगले स्वास्थ्य सेवा ऐनको कारण देखाएर बढुवा गर्ने प्रक्रिया राकेको थियो । तर, हालै मात्र राष्ट्रपति डा. रामवरण यादवले ०६९, चैत २९ गते स्वास्थ्य सेवा ऐन ०५३ को चौथो संशोधन विधेयक जारी गरेपछि बढुवा गर्ने बाटो खुलेको हो ।
बढुवा प्रावधानअनुसार सबैभन्दा बढी अंक रहेको कार्यसम्पादन–मूल्यांकनको आधार भने अन्तिम २ वर्षको हुन्छ । यसमा सुपरिवेक्षकले २८, पुनरावलोकनकर्ताले १२ र पुनरावलोकन समितिले १० नम्बर दिन पाउँछन् । यदि, मूल्यांकन फाराम समयमा भरेको नभएमा पछि पनि भर्न पाइने र तर पछि भर्दा ५ नम्बर घट्नेछ । ज्येष्ठतामा प्रत्येक वर्षको २ नम्बर पाउने प्रावधान छ ।
१२औँ तहमा बढुवा हुन योग्यता पुगेकामध्ये डा. लखन शाह, डा. तीर्थराज बुर्लाकोटी, डा. मुकुन्द पन्थी, डा. शिला बर्मा, डा. पुष्पा चौधरी,  डा. गीता शाक्य,  डा. पदमबहादुर चन्द, डा. सनेन्द्रराज उप्रेती, डा. बालकृष्ण सुवेदी,  राधारमणप्रसाद शाह,  डा. विनोद तुलाचन, डा. राजेन्द्र अग्रवाल, डा. राजेनसुन्दर श्रेष्ठ, डा. मधुरदेव भट्टराई, डा. वीरेन्द्रबहादुर सिंह, डा. विमलप्रसाद ढकाल, डा. चन्देश्वर महासेठ, डा. दिनेश श्रेष्ठ, डा. धनराज अर्याल, डा. किरण रेग्मी, डा. उमाकान्त झा र डा. दामोदरप्रसाद पोखरेल छन् ।

प्रतिक्रिया