जनआन्दोलनका घाइते भन्दै सयौँ भर्ना

काठमाडौं, ६ जेठ । विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि जनआन्दोलनका घाइते र अपांगको नाममा सयौँ विद्यार्थी भर्ना गरेको पाइएको छ । सय रुपियाँमै भर्नाको व्यवस्थाका कारण विद्यार्थी संगठनले कम खर्चमै चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि जनआन्दोलनका घाइते र अपांगको कार्ड बनाई नियमविपरीत भर्ना गरेका हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण शाखाले जनआन्दोलनका घाइते भनेर सिफारिस गरेपछि मात्र भर्ना गर्न पाउने व्यवस्था छ ।
चुनाव नजिकिँदै जाँदा क्याम्पसले भने कार्डकै आधारमा मात्र भर्ना गरेको खुलेको छ । सय रुपियाँमै भर्ना गर्न मिल्ने भएपछि विद्यार्थी संगठनले जनआन्दोलनका घाइते र अपांग विद्यार्थीको कार्ड बनाई भर्ना गरेका हुन् । क्याम्पस प्रशासनले त्रिवि विद्यार्थी कल्याण शाखाको सिफारिसविनै भर्ना गर्दा धेरै नक्कली कार्ड प्रयोग भएको अनुमान गरिएको छ । विशेष गरी, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस, पाटनस्थित पाटन संयुक्त क्याम्पस र ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा जनआन्दोलनका घाइते र अपांगका नाममा सयौँ विद्यार्थी भर्ना गरिएका छन् । भर्नाको अन्तिम दिन शुक्रबार हतार–हतार विनासिफारिस क्याम्पस प्रशासनले कार्डकै आधारमा मात्र सयौँको भर्ना लिएका हुन् ।
त्यसो त जनआन्दोलनका घाइते तथा अपांगलाई एउटा क्याम्पसमा मात्र भर्ना हुन पाउने नियम छ । तर, विद्यार्थी संगठनले चुनावको मौकामा भोटका लागि दुईभन्दा बढी क्याम्पसमा भर्ना गरेका छन् । आरआर क्याम्पसमा जनआन्दोलनका घाइतेका नाममा पाँच सयभन्दा बढी भर्ना गरेको प्रशासन स्रोतले जनाएको छ । पाटन संयुक्त क्याम्पसमा दुई सय र अन्य क्याम्पसमा सयको हाराहारीमा त्यस्ता विद्यार्थी भर्ना गरिएका छन् ।
विद्यार्थी कल्याण शाखाले चालु शैक्षिक सत्रमा त्रिविले तीन सयको संख्यामा मात्र जनआन्दोलनका घाइते विद्यार्थी भर्नाका लागि सिफारिस गरेको जनाएको छ । शाखा प्रमुख गंगाबहादुर थापाले अहिलेसम्म तीन सय मात्र भर्नाका लागि सिफारिस गरिएको जानकारी गराएका छन् । ‘हामीले जनआन्दोलनका घाइते र अपांग गरी तीन सयको संख्यामा मात्र भर्नाका लागि सिफारिस गरेका छाँै,’ थापाले भने, ‘हाम्रो सिफारिसविना विद्यार्थी भर्ना गर्न पाइँदैन ।’
आरआर क्याम्पसका प्रमुख रुद्रप्रसाद न्यौपानेले भने त्रिविले सिफारिसका विषयमा कुनै परिपत्र नगरेका कारण कार्डकै आधारमा जनआन्दोलनका घाइते र अपांग विद्यार्थी भर्ना गरिएको बताए ।
घाइते र अपांगका नाममा भर्ना गर्नेमा एकीकृत माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी, एमालेनिकट अनेरास्ववियु र कांग्रेसनिकट नेपाल विद्यार्थी संघ अग्रपंक्तिमा छन् । उनीहरूले घाइते र अपांगका नाममा नियमविपरीत भर्ना गरेको भन्दै एक अर्कालाई दोषारोपण गर्ने गरेका छन् । नेविसंघका प्रवक्ता युपी लामिछानेले गृहमन्त्रालयको रेकर्डका आधारमा रुजु गरेर मात्र नामावली प्रकाशन गरिने जानकारी गराए ।
फर्जी भर्ना खारेजीको माग
अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना खारेज गर्न माग गरेको छ । उसले जनआन्दोलनका घाइते र अपांग विद्यार्थी एक क्याम्पसबाट मात्र चुनावमा भाग लिन पाउने वातावरण बनाउन त्रिभुवन विश्वविद्यालयसँग मागसमेत गरेको छ  । उक्त विद्यार्थी संगठनका अध्यक्ष हिमाल शर्माले आफूहरूले कानुनसम्मत रूपमा विद्यार्थी भर्ना गरेको दाबी गरेका छन् । ‘हामीले कहीँ पनि एकमुष्ट रूपमा भर्ना गरेका छैनाँै,’ शर्माले भने, ‘हामीले विधि पुर्‍याएर विद्यार्थी भर्ना गरेका छाँै । स्ववियु चुनाव अब यो वा त्यो बहानामा रोक्न मिल्दैन, कसैले रोक्न पनि सक्दैन ।’

प्रतिक्रिया