मदन भण्डारीलाई नपछ्याउँदा…

200px-Madan_bhandariकाठमाडौं, ४ जेठ । दास ढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २० वर्ष पुगेको छ । अस्वाभाविक र रहस्यमयी त्यो दुर्घटना नियोजित थियो वा सामान्य भन्ने कानुनी र तार्किक निष्कर्ष जनताले अझै सुन्न पाएका छैनन् ।
दुर्घटनामा समकालीन राजनीतिका सबैभन्दा चर्चित नेता भण्डारीको निधन भएपछि त्यसले संसारको ध्यान केन्द्रित गर्‍यो । एमाले अहिले पनि त्यो दुर्घटना नभएर हत्या भएको दाबी गर्छ । भण्डारीले अगाडि सारेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’लाई आफ्नो मार्गदर्शक सिद्धान्त बताउने एमालेका तीन नेता यसबीचमा मुलुकको प्रधानमन्त्री भए । तर, मदन–आश्रितको निधन दुर्घटना वा हत्याबाट भएको हो भन्ने छानबिन एमालेले सरकारमै रहेका बेला पनि गर्न सकेन । त्यसैले २० वर्ष बितिसक्दा पनि दुर्घटना वा हत्या के हो भन्नेबारे आधिकारिक पुष्टि भएको छैन ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रगतिशील आर्थिक सामाजिक सारसहितको लोकतान्त्रिक प्रतिस्पर्धाको सिद्धान्तमा डोहोर्‍याउने आधिकारिक दस्तावेज भण्डारीले नै दिएका थिए । एमालेले आजसम्म त्यसैलाई मार्गदर्शक सिद्धान्त बताउँदै आएको छ । अझ, हतियार नबोक्ने कम्युनिस्ट नै हुन नसक्ने मान्यताका साथ सशस्त्र युद्धको नीति लिएर जंगल पसेको तत्कालीन माओवादी झन्डै १६ हजार नेपालीको बलिदानीपछि भण्डारीले अगाडि सारेको त्यही मान्यताका नजिक आएको छ ।
०४७ सालको संविधान निर्माणकै बेला भण्डारीले २७ बुँदे फरक मतसहित संविधानलाई पार्टीको तर्फबाट समर्थन जनाएका थिए । संविधानमा सम्झौता गर्ने राजनीतिक शक्तिहरू सम्झौताप्रति इमानदार रहुन्जेल एमालेले पनि संविधान मानेर संवैधानिक राजतन्त्रसहितको बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धामा सामेल हुने घोषणा उनले गरेका थिए ।
त्यसयता संविधान निर्माणको साझेदार शक्ति मानिएको राजदरबारले ०४७ सालको संविधानले दिएको सीमारेखा उल्लंघन गरेर शक्तिशाली हुने प्रयास गर्‍यो र अर्काे जनआन्दोलनको बलमा नेपालबाट राजतन्त्र अन्त्य भयो । ०६२/०६३ को आन्दोलनपछि पहिलोपटक निर्वाचित संविधानसभाले जे घोषणा गर्‍यो, ०४७ सालको संविधानमा मदन भण्डारीले पेस गरेका २७ बुँदे धारणा तिनै थिए । यसले पनि उनको राजनीतिक दूरदर्शिता पुष्टि गर्छ ।
भण्डारीको निधनपछि एमालेको नेतृत्वले उनैले अघि सारेका ती मुद्दाको अग्रतापूर्वक नेतृत्व गर्न सकेन । आजको राजनीतिमा मदन भण्डारीको विचार नेतृत्वकारी विचारका रूपमा स्थापित हुँदै गर्दा एमाले भने कमजोर बन्दै गएको छ । आफ्ना मान्यताहरू अलग हुँदा पनि संक्रमणकालीन राजनीतिलाई दिशा दिन मदन भण्डारी हिम्मत गर्थे भन्ने कुरा पनि संविधानमाथिको आलोचनात्मक समर्थनले पुष्टि गर्छ । आजको नेपाली राजनीतिको संक्रमणमा पनि यसै कारण भण्डारीको सम्झना हुन्छ ।
भण्डारीविनाका २० वर्षमा किन कमजोर भयो त एमाले ? पार्टी सचिव शंकर पोखरेल भन्छन्, ‘सही राजनीतिक निष्कर्षलाई जनतासँगको संवादमा लगेर स्थापित गर्नसक्ने नेतृत्व हुन सकेन, त्यसैले नीति सही साबित हुँदा पनि नेतृत्वमा एमाले स्थापित हुन सकेन ।’ हुन पनि भण्डारीले त्यसबेला अगाडि सारेको विचारलाई दक्षिणपन्थी र संशोधनवादी भनेर आरोपित गर्ने माओवादी घुमीफिरी एमाले हिँडेकै बाटोमा आइपुगेको छ तर सिद्धान्तलाई स्वीकार गर्न अप्ठेरो परेर उसले आफ्ना मान्यतालाई अति दक्षिणपन्थी बाटोमा मोडेको छ ।
भण्डारीको स्थापित विचारमा टेकेर एमालेले आफ्नो भूमिका निर्वाह गर्न नसकेको यसैबाट पनि देखिन्छ । सन् १९९० को दशकमा सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएर धमाधम कम्युनिस्ट सत्ता ढलिरहेका बेला भण्डारीको विचार र नेतृत्वले नेपालमा एमालेले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएको थियो र मुलुकमा वैकल्पिक नेतृत्वका रूपमा उदाएको थियो । आज भण्डारीले अगाडि सारेका मान्यता स्थापित हुँदै छन् र तुलनात्मक रूपमा कम्युनिस्ट जनमत बलियो छ । तर, नेतृत्वमाथि विश्वासको संकट चुलिँदै गएको छ । विचार र संगठन परिचालनमा कुशलता नहुँदा ०५५ सालमा विभाजित भएको एमाले फेरि एकीकरण भए पनि स्थापित हुन नसक्नुमा नेतृत्वमाथिको विश्वसनीयता नहुनु नै हो ।
भण्डारी र आश्रितको निधन कसरी भयो भन्ने कुरा इतिहासको गर्तमा अझै रहस्यमय छ र एमालेलाई जनपरिचालनमा संकट पर्दा मात्रै ती विषय छलफलमा आउँछन् । तर, एमालेकै नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि त्यति महत्त्वपूर्ण नेताहरूको रहस्यमय मृत्युबारे निष्कर्षमा पुग्न सकेको छैन । अझ दुर्घटनाका एक मात्र जिउँदा साक्षी अमर लामाको तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले गरेको रहस्यमय हत्याबाट थप संशय पैदा भएको छ ।
भण्डारीको राजनीतिक लाइनका प्रखर आलोचक तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लोपटक एउटा भनाइ सार्वजनिक गरेका छन्, ‘मदन भण्डारीको हत्या हुनुभन्दा अघि हामी भेटघाट गर्ने कुरा भएको थियो तर हत्याका कारण भेट्न सकिएन ।’ यसरी हेर्दा भण्डारीको लोकप्रियताको फाइदा एमालेले मात्रै होइन, उनको विचारका विरोधी एमाओवादी अध्यक्ष दाहालले पनि उठाउन खोजेका थिए । तर, दाहालको भनाइको सत्यता जाँच्ने कसी पनि भण्डारीको निधनपछि नै अन्त्य भएको छ । भिडको संख्या हेरेर भाषण गर्ने र कस्तो भाषण गर्दा तत्कालीन राजनीतिक लाभ लिन सकिन्छ भनेर दिनहुँ कुरा फेर्ने जुनसुकै दलको नेताले पनि मदनबाट सिक्नुपर्छ, ‘भाषणले भिड उराल्ने होइन, भिडलाई सही बाटो देखाउने हो ।’
सशस्त्र युद्ध समाप्तिपछि नेतृत्वसँग स्खलित भएर बसेका युवा कम्युनिस्ट कार्यकर्ताले पनि नेतृत्वको भाषण कौशल होइन, दूरदर्शिता विचार गरेर मात्रै आफूलाई आन्दोलनमा समर्पित गर्नुपर्छ । मदन–आश्रितको २०औँ स्मृति दिवसमा हरेक वर्षझैँ यसपालि पनि श्रद्धाञ्जलीका शब्द र पुष्पगुच्छा अर्पण गरिए तर भण्डारीले अंगीकार गरेको राजनीतिक विचारको सही पक्षपोषण उनकै पार्टीबाट हुन सकेको छैन ।

प्रतिक्रिया