कांग्रेस, एमाओवादी र मधेसी दलप्रति ओलीको व्यंग्य

काठमाडौं, २ जेठ । एमाले नेता केपी शर्मा ओलीले कांग्रेसको प्रजातान्त्रिक समाजवादको खरी झरेको र एकीकृत माओवादीको एक्काइसौं शताब्दीको जनवाद लुतो लागेर खुइलेको भन्दै अबको चुनावमा एमालेलाई जिताउन आग्रह गरेका छन् । मधेसका अन्य शक्ति सामन्त भएको र उनीहरूले जातीय संवेदनामा मात्र खेल्न खोजेको ओलीको भनाइ छ ।
पार्टी भ्रातृसंगठन युवा संघ नेपालको २३औँ स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेता ओलीले यस्तो जिकिर गर्दै अब एमालेलाई जिताउनुपर्ने बताएका हुन् । एमालेलाई चुनावमा विजयी बनाउन युवालाई सक्रिय हुन आग्रह गर्दै ओलीले अहिलेसम्म युवालाई एकीकृत माओवादीले अल्मल्याएको दाबी गरे । ‘माओवादीको एक्काइसौं शताब्दीको जनवाद लुतोले खुइलिएको जन्तुजस्तो भइसक्यो युवालाई विस्तारवादसँग लड्न सुरुङ खन भनेर नेताले टावर ठड्याए र विदेशी शक्तिसँग उनीहरूको स्वार्थमा पञ्जापत्र लगाए,’ ओलीले भने, ‘बरफजस्तै पग्लेको माओवादीको भ्रम चिर्न युवा सक्रिय हुनुपर्छ ।’
ओलीले कांग्रेसले प्रजातान्त्रिक समाजवादको मादल बजाए पनि त्यसको खरी झरेको तर्क गरे । ‘१०/१२ सालसम्म कांग्रेसको प्रजातान्त्रिक समाजवादको मादल बजाउँदा राम्रैसँग बज्थ्यो, अहिले त त्यसको खरी झरिसकेको छ । छाला पनि फाटेको छ । बजाउँदा ढ्याप–ढ्याप आवाज आउँछ,’ उनले भने । ओलीले मधेसी दल परम्परागत सामन्ती शक्ति भएको आरोप लगाउँदै उनले मधेसी दलहरू जातीय संवेदना भड्काउने र विखण्डनमा मुलुकलाई पुर्‍याउने काममा लागेको बताए । ‘उनीहरू सामन्त हुन् तर, जातीय संवेदना भड्काउन विखण्डनमा पुर्‍याउन कहाँबाट इन्जेक्सन लगाएर आएका छन् पत्तो छैन,’ उनले भने ।
सवैधानिक निकायमा पदाधिकारी नियुक्तिमा एमाओवादीले स्वस्थानीको प्रसाद बाँडेजस्तो गरेको टिप्पणी गर्दै उनले युवालाई क्रान्तिको सपना देखाएर माओवादी नेतृत्व अर्बपति बनेको आरोप लगाए । ‘स्वस्थानीको कथामा छ नि प्रसाद छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु भन्ने,’ उनले भने, ‘नियुक्ति गर्दा माओवादी नेताहरू त्यस्तै गर्छन् र कार्यकर्तालाई क्रान्तिको सपना देखाएर अर्बपति बन्छन् ।’ युवालाई खोरमा थुनेर माओवादी नेतृत्व अर्बपति बनेको ओलीको भनाइ थियो ।
सचिव शंकर पोखरेलले पञ्चायतकालमा पनि न्यायालय स्वतन्त्र रहने गरेको उल्लेख गर्दै अहिले आएर भने चुनावी मन्त्रिपरिषद्का अध्यक्षको लाचार छायाँ बनेको टिप्पणी गरे । युवा संघ नेपालले ओलीलाई गरेको सम्मानलाई नेता पोखरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको नेतृत्वको हातमा जाने संकेतका रूपमा अथ्र्याए । आउने संविधानसभाको चुनावबाट नेतृत्व र नीति दुवै एमालेको स्थापित हुने उनले दाबी गरे । यसअघि नीति एमालेको तर नेतृत्व उग्रवामपन्थी शक्तिको भएकाले संविधान नबनेको उनको दाबी थियो ।
संघको २३औँ स्थापना दिवस समारोहमा संघका संस्थापक अध्यक्ष ओलीलगायत १३ जना संस्थापक नेताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा ओलीले अन्य पार्टीबाट एमाले प्रवेश गर्नेलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया