बेलिब्रिज निर्माणको प्रक्रिया रोकिएपछि आन्दोलन

बाजुरा, २४ वैशाख । बूढीगंगा नदीमा बेलिब्रिज निर्माणको प्रक्रिया रोकिएपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् ।
प्रक्रिया रोकिएपछि आक्रोशित राजनीतिक दलका स्थानीय कार्यकर्ता  र स्थानीयवासीले जिल्लामा आइतबार र सोमबार बजार र सरकारी कार्यालय बन्द गराएका हुन् ।
भौतिक पूर्वाधार तथा  यातायात व्यवस्था मन्त्रालयले बाजुराका लागि न्यायोचित निर्णय नगरेसम्म बन्द जारी रहने संघर्ष समितिका सदस्य पदम बडुवालले बताए ।
सदरमुकाम मार्तडी जोड्ने मुख्य बूढीगंगा नदीमा बेलिब्रिज निर्माणको योजना स्थगनको निर्देशन दिइएपछि यहाँका बासिन्दाको सडक सपनासमेत तुहिएको छ । बूढीगंगामा बेलिब्रिज बनेपछि बाजुरा सदरमुकाम मार्तडीसम्म बाह्रै महिना ट्रयाक्टर चल्नसक्ने सम्भावना थियो । मन्त्रालयको स्वीकृतिअनुसार साफे–मार्तडी सडक आयोजना कार्यालयले टेन्डरसमेत प्रकाशन गरेको थियो । ‘तर, एकाएक मन्त्रालयले स्थगन गर्न निर्देशन दिएपछि टेन्डर रद्द गर्‍यौँ, नेतहरूको पहँुच भएको भए यसो हुने थिएन, जिल्लावासीले राहत पाउने थिए,’ आयोजना कार्यालयका प्रमुख इन्जिनियर राजेश पौडेलले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष अर्जुन शाहले मन्त्रालयको उक्त निर्णयप्रति उच्च सरोकार राख्न र सदरमुकामलाई सडक सञ्जालमा जोड्ने पूर्वाधार निर्माणका लागि दबाब सिर्जना गर्न जिल्लास्थित सबै राजनीतिक दल, नागरिक संगठन, उद्योग व्यवसायीलगायत सर्वसाधारणको ध्यानाकर्षण गराए ।  उनले बूढीगंगा नदीमा तत्काल बेलिब्रिज र दीर्घकालीन समाधानका लागि पुलको व्यवस्था माग गर्दै बार्जुगाडदेखि मार्तडीसम्मको ३० किलोमिटर सडक तत्काल कालोपत्रेको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे र  क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले मन्त्रालयले गरेको  निर्णय दु:खद भएको र अब जिल्लाका शीर्ष नेताले मन्त्रालय तताउनुपर्ने  बताए ।  बूढीगंगा नदीदेखि मार्तडीसम्मको दूरी भने करिब १४ किमी छ ।

प्रतिक्रिया