कांग्रेसले बिपी बिर्सियो भन्ने फासीवादी : पौडेल

rc poudelचितवन, १६ वैशाख । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कांग्रेसका संस्थापक बिपीको हाराहारीमा आफूलाई उभ्याउन खोज्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शैलीप्रति कटाक्ष गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालयलगायत विभिन्न स्थानमा प्रचण्डले बिपीलाई जस्तै आफूलाई पनि घेराबन्दीमा पारिएको बताएको सन्दर्भप्रति संकेत गर्दै पौडेलले कटाक्ष गरेका हुन् । बिपी चिन्तन प्रतिष्ठान, चितवनले आइतबारदेखि आरम्भ गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो कटाक्ष गरेका हुन् ।

कांग्रेसले बिपीको सिद्धान्त बिर्सिएको आरोपको पनि उनले खण्डन गरे । ‘बिपी नरहेकाले उहाँसँग प्रतिस्पर्धा गर्नुनपर्ने भएको छ । कांग्रेसले बिपीको सिद्धान्त भुलेको भन्नुभएको छ, प्रचण्डजीले । अब प्रचण्डले बिपीसँग होइन, सुशील, रामचन्द्र र शेरबहादुरसँग प्रतिस्पर्धा गर्नुपर्छ ।’
कांग्रेसले बिपीको सिद्धान्त भुलेको अफवाह कम्युनिस्ट र फासिवादीहरूले चलाएको आरोप लगाए । प्रचण्डले बिपीको गुनगान गाउनेगरेकोतर्फ संकेत गर्दै उनले प्रचण्डले बिपीलाई कहिल्यै मन नपराएको दाबी गरे । प्रजान्तन्त्र र कांग्रेसलाई धरापमा पार्न यस्तो हल्ला पिँmजाइएको आरोप उनले लगाए ।
उपसभापति पौडेलले आगामी मंसिर पाँच गते चुनाव हुने विश्वाससमेत व्यक्त गरे । ‘चुनाव जनताको अधिकार हो, यसलाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘मंसिरको पहिलो साता जसरी पनि चुनाव हुन्छ ।’
लोकतन्त्रविरोधी र उग्रवामपन्थीहरूबाट मुलुकलाई बचाउनुपर्नेमा उपसभापति पौडेलले जोड दिए । जनताविरोधी संविधान बन्न आफूहरूले नदिएको उनले बताए । उनले उल्टै एमाओवादी सिद्धान्तहीन भएको आरोप लगाए । ‘आफूलाई ठूलो दल ठानी संघीयताको कुरा गर्ने माओवादीको कुनै निश्चित सिद्धान्त छैन,’ उनले भनेँ । संघीयताको कुरामा जनतालाई झुलाउँदै माओवादीले केन्द्रीकृत शासन लाद्न खोजेको आरोप लगाउँदै उनले एमाओवादी नियतबारे जनता सजग हुनुपर्ने औँल्याएँ । एमाओवादी र संघीयताबारे जनतामा रहेको भ्रम चिर्न कांग्रेस अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।
राष्ट्रियता खण्डित हुनबाट बचाउन र समाजवादको सिद्धान्तलाई अगाडि बढाउन अब जनताले कांग्रेसलाई बहुमत दिने विश्वास उनले व्यक्त गरे । ‘कांग्रेस नेतृत्वको सरकार हुँदा जहिले पनि जनताको हित भएको थियो,’ उनले भनेँ, ‘२०४७ सालको जनआन्दोलनपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराई नेतृत्वमा गठन भएको सरकारले संविधान बनायो, दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला अन्तरिम संविधान बन्यो ।’

प्रतिक्रिया