विकास–निर्माणमा गुन्डागर्दी बढ्दो

उदयपुर, १० वैशाख । राजनीतिक दलका नेताहरूको संरक्षणमा दयपुरलगायत ठाउँमा गुन्डागर्दी तथा आपराधिक गतिविधि बढ्न थालेको छ । राजनीतिक दलको आडमा दादा–भत्ता असुली गर्नेको संख्या बढ्न थालेको छ ।

प्रहरी प्रशासनको फितलो सुरक्षा व्यवस्थाका कारण यस्ता गुन्डाबाट स्थानीयवासीले त्रसित हुनुपरेको छ । प्रहरीले पक्राउ परेका गुन्डाबाट रकम असुलेर उनीहरूलाई रिहा गर्ने गरेकाले समेत यस्तो समस्या फैलिँदै गएको जानकारहरूको आरोप छ ।
मोटो रकमका विकास–निर्माणमा गुन्डाहरूको बढी चलखेल हुने गरेको छ । गाउँमा हुने विकास–निर्माणका काममा दादा–भत्ता नपाए गुन्डाहरूले अवरोध गर्ने गरेका छन् । निर्माणकार्यको सम्झौता भएको भोलिपल्टदेखि नै विभिन्न समूहका गुन्डाहरू दादा–भत्ता लिन ठेकेदारकहाँ पुग्ने गरेका छन् ।
गत माघ २० गते सगरमाथा राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–२ बरुवा खोलामा करिब ९ कारोड ४९ लाख रुपियाँको लगानीमा निर्माणधीन पुलका कामदारमाथि कुटपिट तथा सामग्री राख्न बनाइएको घरमा आगजनी भयो । कन्सट्रक्सन कम्पनी लुम्बिनी शान्ति जेभीका प्रतिनिधि नन्दन शर्माका अनुसार ५ लाख रुपियाँ दादा–भत्ता नदिएको निहुँमा गुन्डाहरूले आतंक मच्चाएका हुन् । गुन्डाहरूले स्काभेटरका अपरेटर भीमबहादुर पुन तथा हेल्पर विजय राई सुतिरहेकै अवस्थामा राति घरमा आगो लगाइदिएका थिए । घटनापछि पीडितले किटानी जाहेरी दिँदा पनि कारबाही अघि नबढाइएको पीडितहरूको भनाइ छ ।
त्यसको महिना दिन बित्न नपाउँदै फेरि त्रियुगा नगरपालिका–२, गाईघाटका काष्ठ व्यवसायी जनार्दन रेग्मीमाथि सांघातिक आक्रमण भयो । चैत १५ गते साँझ राजापानी–२ खोटाङस्थित एक होटलमा खाजा खाइरहेका बेला गुन्डाहरूको एक समूहले रेग्मीसहित उनका सहयोगीलाई अपहरण गरी मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । आक्रमणका मुख्य योजनाकार दिनेश राईलाई प्रहरीले अझ पक्रन सकेको छैन भने अन्य तीनजना पक्राउ परिसकेका छन् ।
रेग्मीमाथि आक्रमण भएको दुई साता बित्न नपाउँदै खोटाङको मात्तिममा सञ्चालित ‘गाउँ फर्क कुलो सिँचाइ योजना’का प्रबन्धनिर्देशक प्रेम लामाले गुन्डाहरूबाट पैसा नदिए ज्यान लिने धम्की सहनुपर्‍यो । दुई करोड १३ लाख रुपियाँको लागतमा सञ्चालित योजनाको २५ प्रतिशत कामसमेत गुन्डाहरूले मागेको लामाले बताएका छन् ।
गत बिहीबार वैकल्पिक राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–४ बरुवा खोलामा निर्माणाधीन पक्कीपुलमा कार्यरत मजदुर गुन्डाहरूबाट कुटिए । ठेकेदारले दादा–भत्ता नदिएको भन्दै गुन्डाहरूले उनीहरूलाई कुटेका थिए । पुल निर्माणको जिम्मा पाएको हरिहरि एपेक्स जेभिका ठेकेदार केदार दाहालले दादा–भत्ता नदिएको भन्दै ठेकेदार तर्साउन मजदुर कुटिएको बताए । घटनामा संलग्नमध्ये एक पक्राउ गरेको उदयपुरका डिएसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया