१२ वर्षपछि बन्यो वातावरण विभाग

काठमाडौं, २ वैशाख । गृहकार्य थालेको १२ वर्षपछि बल्लतल्ल वातावरण विभागको स्थापना भएको छ । सन् २००० देखि वातावरणसम्बन्धी छुट्टै विभागको स्थापनाका लागि पहल सुरु भए पनि गत १२ साउनमा मात्र मन्त्रिपरिषद्को बैठकले ‘वातावरण विभाग’ स्थापना गर्ने निर्णय गरेको थियो ।

निर्णय हुँदा तत्कालीन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन महिनाभित्र विभाग स्थापना गरिसक्ने बताए पनि करिब ८ महिना ढिलो गरी काम भएको हो । हालै स्थापना गरिएको विभागमा कर्मचारीको नियुक्तिप्रक्रिया चलिरहेको विभागका निर्देशक सुरेन्द्र सुवेदीले बताए । ‘५४ जनाको दरबन्दीमा भर्खर १३ जना अधिकृतको नियुक्ति भयो, अरू बाँकी छ, साउनमै मन्त्रिपरिषद्बाट निर्णय भए पनि प्रक्रिया ढिलो भएकाले चैतमा बल्ल विभाग स्थापना गरियो,’ निर्देशक सुवेदीले बिहीबार सौर्यसँग भने ।
उनले पदपूर्तिप्रक्रिया चलिरहेको र नयाँ आर्थिक वर्ष सुरु भइनसकेकोले साउनसम्मका लागि अस्थायी रूपमा मन्त्रालयभित्रै र काभ्रेको बनेपास्थित सूचना प्रविधि (आइटी) पार्कमा विभागको कार्यालय स्थापना गरिएको बताए ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका अनुसार विभागको महानिर्देशकमा डा. युवकध्वज जिसीलाई नियुक्त गरिएको छ । कृषि मन्त्रालय मातहतको बाली संरक्षण निर्देशनालय हरिहर भवनका बाली–संरक्षण–निर्देशक डा. जिसी ४ वैशाखदेखि विभागको महानिर्देशक पदको जिम्मेवारी सम्हाल्दै छन् । ५४ जनाको दरबन्दीमा एक महानिर्देशक र दुई उपमहानिर्देशक गरी सहसचिव ३ जना, उपसचिव ६ जना, ३९ जना अधिकृत र बाँकी सहायकस्तरका अधिकृत नियुक्त हुनेछन् ।
सबै दरबन्दी पूरा भएपछि नयाँ आर्थिक वर्षसँगै विभागको छुट्टै कार्यालय काठमाडौंमै राखिने मन्त्रालयका सचिव केशवप्रसाद भट्टराई बताउँछन् । सचिव भट्टराई भन्छन्, ‘असारपछि मात्रै विभाग केन्द्रमा राख्ने योजना छ, अहिलेलाई आइटी पार्कको भवन प्रयोग गरिएको छ, नयाँ आर्थिक वर्षपछि भए सरकारी भवन, नभए भाडामा लिएर भए पनि सिंहदरबार–आसपास विभाग राखिनेछ ।’
विभाग नहुँदासम्म सन् १९९५ मा जनसंख्या तथा वातावरण मन्त्रालय स्थापना भई सन् २००९ मा वातावरण मन्त्रालय छुट्टै र विज्ञान, प्रविधि तथा वातावरण भइसक्दासम्म पनि मन्त्रालयको देशभर अर्को कुनै वातावरणीय निकाय वा कार्यालय थिएन । वातावरणसम्बन्धी नीतिगत निर्णयको कार्यान्वयन र ऐनकानुन पालना भए/नभएको अनुगमन गर्ने निकाय नहुँदा समस्या थियो । धेरै निर्णय र ऐनकानुन बनेका भए पनि तिनीहरूको कार्यान्वयन हुन सकेको थिएन ।
वातावरणसंरक्षण ऐन २०५३ र वातावरणसंरक्षण नियमावली २०५४ बनाउँदा नै वातावरण विभागको आवश्यकता महसुस गरिए पनि सन् २००० देखि विभाग–स्थापनाको गृहकार्य सुरु भएको मन्त्रालयका एक पूर्वसहसचिवले बताए । उनका अनुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री भक्तबहादुर बलायर र सचिव डा. गोविन्दराज भट्टले विभाग स्थापना गर्न प्रक्रिया सुरु गरेका थिए, जसका लागि गठित एक टोलीले सिंगापुर, मलेसिया र इन्डोनेसियामा पुगेर त्यहाँका वातावरण विभागको अध्ययन गरेका थिए ।
‘त्यो टोलीले विभाग स्थापना गर्न तत्कालै फाइलअगाडि बढाए पनि सामान्य प्रशासन मन्त्रालयले रोकेको थियो, त्यसपछि सामान्य प्रशासन र वातावरण मन्त्रालय ओहोर–दोहोर गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर विभाग स्थापना हुन १२ वर्षभन्दा बढी लाग्यो,’ ती पूर्वसहसचिवले भने । बीचमा सुस्ताएको विभाग–स्थापनाको तयारी सन् २००९ देखि पुन: सुरु भएको हो ।

प्रतिक्रिया