पुस्तकमा बिक्रीमा पब्लिकेसनको कालोबजारी

booksकाठमाडौं, २७ चैत । विद्यालय तहको पुस्तक बिक्रीमा निजी पब्लिकेसनहरूले कालोबजारी गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले तोकेको मुल्यभन्दा दोब्बर रकममा उनीहरूले पुस्तक बेचिरहेका छन् ।

अभिभावक संघ नेपालले सोमबार गरेको अनुगमनमा पब्लिकेसनले विद्यालयस्तरको पुस्तकमा दोब्वर मूल्य लिइरहेको पाइएको हो । अनुगमनका क्रममा पब्लिकेसनहरूले नयाँ पुस्तकमा केन्द्रले तोकेको मूल्य नराखेर पुरानै मुल्य राखेर बेचेको पाइएको छ ।
केन्द्रले पुसदेखि प्रतिपेज सादा ९४ रुपियाँ ५ पैसा, डबल कलर १ रुपियाँ १० पैसा र मल्टिकलर १ रुपियाँ ३१ पैसा मुल्य तोकेको थियो । ५ हजारभन्दा बढी प्रति छाप्ने प्रकाशन गृहलाई सादा प्रतिपेज ९९ रुपैया २५ पैसा, डबल कलर ९९ रुपिया ७५ र मल्टिकलर १ रुपियाँ १५ पैसा मूल्य निर्धारण गरेको थियो ।
नयाँ मूल्य अनुसार सय रुपियाँमा पाइने पुस्तक पब्लिकेसन गृहहरूले २ सय रुपियाँमा बेचिरहेका छन् । संघका उपाध्यक्ष सरिता अर्यालले केन्द्रले तोकेभन्दा दोब्बर रकम लिएर पब्लिकेसनले पुस्तक बेचिरहेको बताइन् । उनका अनुसार पब्लिकेसनहरूले एउटै किताबबाट ५० देखि १ सय १० रुपियाँसम्म बढी लिइरहेका छन् । ‘केन्द्रले तोकेभन्दा दोब्बर मूल्यमा पुस्तक बिक्री गरिएको भेटियो’, उनले सौर्यसँग भनिन्, ‘पुरानो मूल्यमा नै पुस्तक बेचिएको छ । नयाँ मूल्य राखिएको छैन ।’
एसियन, युनाइटेड, मेघा, स्टेन्डर्ड, क्याम्ब्रिज, टाइम्स, प्याब्सन र जय पब्लिकेसनले केन्द्रले तोकेभन्दा बढी रकम लिएर पुस्तक बेचेको पाइएको छ । उनीहरूले पुरानै मूल्य राखेर पुस्तक बेचिरहेका छन् । केन्द्रले यस वर्षदेखि निजी तथा जनक शिक्षा सामाग्री केन्द्रको विद्यालयस्तरको पुस्तकमा मूल्य तोकको हो । पुस्तकमा पब्लिकेसनहरूले सिंगल कलर राखे पनि मल्टिकलर बराबरको पैसा लिइरहेका छन् ।
विकास केन्द्रका उपनिर्देशक गणेश भट्टराईले पब्लिकेसनहरूले तोकेभन्दा बढी रकम लिए कारबाही हुने बताए । ‘केन्द्रले तोकेको मूल्यभन्दा बढी रकम लिन पाउँदैनन्, बढी लिने पब्लिकेसनको अनुमति खारेजी गरिन्छ’, उनले भने ।
केन्द्रले पुषमहिना नै पब्लिकेसनहरूलाई निर्धारण गरिएको मूल्य राखी पुस्तक प्रकाशन गर्न आग्रह गरेको थियो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका महासचिव नवनिधि पन्तले केही पब्लिकेसनले बढी मूल्य लिएर पुस्तक बेचिरहेको स्वीकार गरे । ‘केही पुरानो मूल्य राखेर पुस्तक छापिएका छन्’, उनले भने, ‘पुरानो पुस्तकमा पनि नयाँ मूल्य राख्नुपर्ने हो तर राखिएको छैन ।’
त्यस्तै भारतीय प्रकाशनका पुस्तकमा पनि पब्लिकेसनहरूले नेपाली रुपियाँ राखिए पनि भारतीय रुपियाँमा नै बेचिरहेका छन् । पब्लिकेसनले भारतीय प्रकाशनका पुस्तक छाप्दा नेपाली रुपियाँ उल्लेख गरेर लिनुपर्ने उल्लेख छ । तर, नेपाली रुपियाँ उल्लेख गरै पनि भारतीय मुल्य बराबरमै पुस्तक बिक्री भइरहेका छन् ।
पब्लिकेसनहरूले छापेका पुस्तकमा एकरूपता पनि छैन । विद्यार्थीलाई झोलामा अटिने खालको एकै किसिमका पुस्तक हुने भने पनि फरक–फरक आकारका पुस्तक पब्लिकेसनहरूले छापेका छन् । केन्द्रले पुस्तकको साइज १८ इन्च चौडाइ र २४ इन्च लम्बाइ तोकेको थियो ।
पुस्तकको साइज ठूलो हुँदा विद्यार्थीले करिब १० केजी बराबरको झोला बोक्नुपर्ने हुन्छ । शिक्षा विभागले लागू गरेको निर्देशिकामा १ देखि ५ कक्षासम्म ४ केजी, ६ देखि ८ सम्म ६ केजी र ८ देखि माथि ८ केजी बराबरको पुस्तक भएको झोला तोकिएको छ ।

प्रतिक्रिया