हङकङसंग नेपाल पराजित

cricket1काठमाडौं, १४ चैत । एसीसी ट्वान्टी २० कपको आजको खेलमा नेपाल हङकङसंग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जिटेर पहिलो व्याटिङ गरेको नेपालले हङकङलाई ११६ रनको लक्ष्य दिएको थियो । हङकङले १७ ओभर खेल्दै ४ विकेटको क्षतिमा सहजै लक्ष्य भेट्टायो ।
हिजो माल्दिभ्ससंगको खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टीम आज व्याटिङ र बलिङ दुवैमा जम्न सकेन । माल्दिभ्ससंगको खेलमा २१ बलमा अर्धशतक पुरा गरेका प्रारम्भिक व्याट्सम्यान प्रदीप ऐरी आज २१ रनमै आउट भए भने नेपालका लागि ज्ञानेन्द्र मल्लले र्सवाधिक ३८ रन बनाए । यस्तै बसन्त भण्डारी र शक्ति गौचन बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
हङकङको जितका लागि निजाकात खानले सर्वाधिक अविजित ४२ रन बनाए । नेपालका बसन्त रेग्मीले ३ विकेट लिए । नेपालले सेमिफाईनल प्रवेशका लागि अबका सबै खेलहरु जित्नैपर्ने बाध्यता भएको छ । नेपालले अर्काे खेल मलेसियासंग खेल्नेछ ।

प्रतिक्रिया