बाबुको किरियासँगै सकियो एसएलसी

kiriyaगुल्मी, १० चैत । गुल्मीमा एक विद्यार्थीले बाबुको किरिया बसेरै एसएलसी परीक्षा दिएका छन् । तुराङस्थित ज्ञानोदय उच्च माध्यमिक बिद्यालयका नियमिततर्फका छात्र रूपाकोट–३ का खिमानन्द भण्डारीले आफ्ना बाबुको काजकिरियासँगै परीक्षा दिएका हुन् ।

भण्डारीका बाबु डिलारामको परीक्षा सुरु हुनुभन्दा चार दिनअघि मृत्यु भएको थियो । भण्डारीले चार दिनपछि परीक्षा केन्द्रमै बाबुको किरिया गर्दै जाँच दिँदै गरेका थिए । ‘के गर्नु जीवन यस्तै रहेछ आज (शुक्रबार) परीक्षाको अन्तिम दिन बुबाको मृत्यु भएको १२औँ दिन पुग्यो,’ परीक्षाहलमै उनले भने, ‘आज जाँच सकेर भोलि (शनिबार) १३औँ दिनको काम गर्न घर जान्छु ।’
उनले परीक्षा दिन प्रेरणा दिने दाइलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘मेरो दाजु कृष्णप्रसाद भण्डारीको सहयोगबाट परीक्षा दिन सकेँ,’ आँसु झार्दै उनले भने, ‘मलाईजस्तो कसैलाई नपरोस् परे हार नखाई जाँच दिनुहोला ।’
केन्द्राध्यक्ष छविलाल भण्डारीले पितृशोकमा पनि खिमानन्दले मिहिनेतका साथ परीक्षा दिएको बताए । ‘हामीले उनलाई बेग्लै बसेर जाँच दिने व्यवस्था मिलाएका थियौँ,’ केन्द्राध्यक्ष भण्डारीले भने, ‘परीक्षामा उनको सहभागिताले सबैलाई प्रेरणा दिएको छ ।
३ सय ३८ विद्यार्थीमध्ये नियमिततर्फका १ र आंशिकतर्फका ६ जना त्यसै केन्द्रका परीक्षार्थी परीक्षामा उपस्थित नभएकोमा उनले भने शोकमा भए पनि परीक्षा दिएको भण्डारीले बताए । परीक्षा सकेर बाहिर निस्केका खिमानन्दलाई हेर्नेको लर्को लागेको थियो ।

प्रतिक्रिया