असइ बन्न नसकेपछि रकम फिर्ता गराउन हारगुहार

रौतहट, ९ चैत । नेपाल प्रहरीको असइ पदमा जागिर लगाइदिने प्रलोभनपछि रौतहटका एक व्यक्ति ठगिएको खुलासा भएको छ । मधेस–तराई फोरमका वरिष्ठ केन्द्रीय उपाध्यक्ष भाग्यनारायण बैठाले असइमा जागिर मिलाइदिने भनेर पाँच लाख रुपियाँ ठगेको मौलापुर पतौरा–५ का सुरेश साहले आरोप लगाएका छन् ।

१ फागुन ०६७ मा प्रहरीले खोलेको विज्ञापनअनुसार असइ पदमा भरतपुरबाट दरखास्त भरेका साहलाई बैठाले ‘रकम दिए सजिलै जागिरमा लाइदिने’ प्रलोभन दिएको पाइएको छ । ‘पाँच लाख देऊ, जागिर दिलाउने जिम्मा मेरो भयो । बैठाले ठोकुवा गर्दै भनेको अझै सम्झना छ,’ साहले पत्रकारसँग भने । जागिर पाउने आशमा गरुडा बजारको सात धुर जग्गा बेचेर दुईपटकमा पाँच लाख बैठालाई दिएको उनले दाबी गरे । ‘पहिलोपटक दुई लाखको चेक दिएँ । दोस्रोपटक तिन लाख उनको बल्खुमा रहेको तराई स्वतन्त्र न्याय मञ्चको कार्यालयमा लगेर दिएको थिएँ,’ साहले भने ।
लिखितमा पास भई मौखिक परीक्षामा फेल भएपछि रकम फिर्ता माग्दा बैठाले उल्टै धम्क्याएको उनले सुनाए । ‘पैसा माग्न उसको कार्यालयमा जाँदा मलाई उल्टै थुनेर रकम लिइसकेको कागजमा सही गर्न लगायो,’ उनले भने । जिल्ला प्रहरी कार्यालय गौरमा सञ्चारकर्मीसँग दुखेसो पोख्दै आफ्नो रकम फिर्ताका लागि पहल गरिदिन उनले प्रशासनलाई पनि आग्रह गरेका छन् ।
रकम लिएको विषयमा वरिष्ठ उपाध्यक्ष बैठाले आफूले घरखर्चका लागि केही वर्षअघि सापट लिएको दुई लाखमध्ये एक लाख ६० हजार फिर्ता गरेको र अब ४० हजार मात्र फर्काउन बाँकी रहेको स्विकारे । ‘प्रहरीमा जागिर लाउने भनेर मैले कसैसँग पैसा लिएको छैन । घरखर्चका लागि लिएको थिएँ ।’

प्रतिक्रिया