निजी विद्यालयमा अनुगमन सुरु

काठमाडौं, ९ चैत । सरकारले जारी गरेको निर्देशिकाअनुसार निजी विद्यालयहरूले परीक्षा शुल्क लिएको/नलिएकोबारे शिक्षा विभागले बिहीबारदेखि अनुगमन सुरु गरेको छ । जिल्ला शिक्षा कार्यालय पनि अनुगमनमा खटेको छ ।

निजी विद्यालयले भर्ना परीक्षामा निर्देशिकामा तोकेभन्दा बढी शुल्क लिन थालेपछि अनुगमन सुरु गरिएको हो । शिक्षा विभागले निजी विद्यालयहरू सञ्चालनका लागि संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका जारी गरे पनि कार्यान्वयन नगरेपछि अनुगमन गर्न सबै जिल्ला शिक्षा कार्यालयलाई सर्कुलर पनि गरेको छ ।
निर्देशिकामा आवेदन फारमबापत २५ र प्रवेश परीक्षाबापत सय रुपियाँ तोकिए पनि निजी विद्यालयले अटेर गर्दै एक हजारसम्म लिइरहेका छन् । काठमाडांै र ललितपुरमा बढी शुल्क लिइरहेको सूचना पाएपछि बिहीबार ४ विद्यालयमा अनुगमन गरिएको छ ।
काठमाडौका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले तिलगंगास्थित प्यारागन र मध्यबानेश्वरस्थित पाठशाला फाउन्डेसनमा अनुगमन गरिएको बताए । अनुगमनमा दुवै विद्यालयले निर्देशिकाले तोकेभन्दा बढी रकम लिएको पाइएको उनले बताए । प्यारागनले अनुगमन हुने थाहा पाएपछि बिहीबार १ सय २५ रुपियाँ लिएको थियो । उसले बुधबारसम्म पाँच सय रुपियाँ असुल्दै आएको थियो । पाठशालाले बिहीबार पनि पाँच सय रुपियाँ नै लिइरहेको थियो ।
जिशिअ अर्यालले दुवै विद्यालयलाई लिखित रूपमा अबदेखि निर्देशिकामा तोकिएको रकम लिन लगाएको बताए । ‘हामीले दुवै विद्यालयलाई लिखित रूपमा कागज गराएर आइन्दा बढी पैसा नलिन भनेका छौँ,’ उनले सौर्यसँग भने, ‘बढी लिएको रकम पनि फिर्ता गर्न लगाएका छौँ ।’
यस्तै, ललितपुरमा पनि दुई विद्यालयमा अनुगमन गरिएको छ । ललितपुर जिशिअ मनकाजी श्रेष्ठका अनुसार सानेपास्थित शुभतारा स्कुल र रातो बंगलामा भर्ना परीक्षामा बढी शुल्क लिइरहेको सूचनाका आधारमा बिहीबार अनुगमन गरिएको हो । अनुगमनमा शुभताराले ५ सय रुपियाँ लिएको पाइए पनि रातो बंगलाले भने बढी नलिएको पाइएको जिशिअ श्रेष्ठले बताए ।
‘दुवै विद्यालयले बढी शुल्क लिएको सूचना पाएका आधारमा अनुगमन गरेका हाँै,’ उनले भने, ‘तर रातो बंगलाले लिएको देखिएन । तैपनि, आवश्यक अध्ययन गरिरहेका छाँै ।’ उनले दुवै विद्यालयलाई निर्देशिकामा भएबमोजिमको शुल्क लिन आग्रह गरेको बताए । रातो बंगलाले पनि ५ सय रुपियाँ असुल्दै आएको भए पनि त्यहाँ कुनै प्रमाण भेटिएन ।
शिक्षा विभागले भर्ना परीक्षाका नाममा चर्को शुल्क लिन थालेपछि काठमाडौं र ललितपुरका नाम चलेका विद्यालयमा अनुगमन गरेको हो । ‘सुरुमा बढी पैसा नलिन आग्रह गर्ने गर्छांै । गल्ती सुधानै मौका दिन्छाँै,’ अर्यालले भने, ‘नमाने अनुमति खारेजीसम्मको कारबाही गर्छौं ।’ निर्देशिकामा उल्लेख भएका कुराको क्रमश: अन्य कुरामा पनि अनुगमन गरिने उनले बताए ।
निर्देशिका कार्यान्वयन गरेपछि जिल्ला शिक्षा कार्यालयहरूले क्रमश: अन्य विषयमा पनि अनुगमन गर्ने जनाएका छन् । विभागले विद्यालयले तोकेभन्दा बढी रकम लिन थालेपछि बुधबार विज्ञप्ति जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको थियो । विभागले निर्देशिकाभन्दा बढी रकम लिने विद्यालयलाई कारबाही गरिने जनाएको छ ।

प्रतिक्रिया