सामुदायिक वन व्यक्तिका नाममा

banसुर्खेत, ८ चैत । छिन्चु–८ मदानेचौरको जनजागृति सामुदायकि वनलाई छिन्चु–८ का दलबहादुर वनगाडीले आफ्नो नाममा बनाएको खुलासा भएको छ । वनगाडीले सामुदायिक वनलाई नाटकीय शैलीमा आफ्नो नाममा बनाएको जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ ।

८६.२ हेक्टर क्षेत्रफल ओगटेको सामुदायिक वनका सम्पूर्ण पदाधिकारीलाई थाहै नदिएर नक्सा, फिल्ड बुक र लालपुर्जासमेत नक्कली बनाएर वनगाडीले आफ्नो नाममा दर्ता गरेको डिएफओ शम्भुप्रसाद चौरासियाले बताए । चौरासियाले घटनाबारे छानबिन गर्न सहायक डिएफओ अमरलाल मण्डलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन टोलीले दिएको प्रतिवेदनमा वनगाडीले अकल्पनीय कागजात बनाएर सामुदायिक वन आफ्नो नाममा बनाएको उल्लेख छ ।
९८ घरधुरीका ४ सय ६२ प्रत्यक्ष लाभान्वित सामुदायिक वन वनगाडीले ४५ कित्ता पत्नी शशीका नाममा बनाएको तथा बाँकी जग्गाका विभिन्न कित्ता उनकै नजिकका नातेदारको नाममा राखेको प्रतिवेदनमा जनाइएको छ । ७२ जनाका नाममा कित्ताकाट र फिल्ड बुकसमेत बनाइसकेको अवस्थामा सामुदायिक वनका पदाधिकारीले जानकारी पाएपछि १ चैतमा वनगाडीलाई कारबाहीको माग गर्दै जिल्ला वन कार्यालय सुर्खेतमा निवेदन दिएका थिए । वनगाडीलाई वन ऐनमा उल्लेख भएअनुसार जिल्लाबाट कारबाही गर्न नमिल्ने भएकाले आवश्यक कारबाहीका लागि सप्रमाण जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको चौरासियाले बताए ।
सरकारी छाप र कागजात किर्ते गरेको आरोपमा वनगाडीलाई कारबाही हुने तथा थप छानबिनका लागि जिल्ला मालपोत, नापी शाखा र जिल्ला सुकुम्बासी आयोगले पनि सहयोग गरिरहेको जिल्ला वनले जनाएको छ । ०४६ सालदेखि सामुदायिक वनबारेमा विवाद भएको र अदालती प्रक्रियामा समेत मुद्दा वनगाडीले हारिसकेको अवस्थामा किर्ते छाप, फिल्डबुक र लालपुर्जा बनाउन सहयोग गर्नेको पनि खोजी भइरहेको मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा वनगाडीले स्थानीय सामुदायिक वनका पदाधिकारीलाई धम्की दिने गरिरहेको वनका पूर्वअध्यक्ष हिक्मतबहादुर रानाले बताए । वनका बारेमा विवाद भएको दसकाँै बितिसकेको र सर्वोच्चमा पुग्दासमेत वनगाडीले मुद्दा हारेको पूर्वअध्यक्ष रानाले जानकारी दिए ।

प्रतिक्रिया