आन्दोलन सशक्त बनाउने निर्णय

काठमाडौं, १० माघ । विपक्षी दलहरूले सरकारविरुद्ध घोषणा गरेको आन्दोलन थप सशक्त बनाउने भएका छन् । विपक्षी दलको आन्दोलन कार्यदलको बैठकले सरकारविरुद्ध उपत्यकामा घोषणा गरिएको आन्दोलनलाई सशक्त र व्यवस्थित बनाउने निर्णय गरेको हो ।

मंगलबार कांग्रेस मुख्यालय सानेपामा बसेको कार्यदलको बैठकले प्रभावकारी आन्दोलनको विकल्प नरहेको ठहर गर्‍यो । ‘सरकार सर्वसत्तावादतर्फ धकेलिएको छ, आन्दोलन गर्नुको विकल्प छैन,’ नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सौर्यसँग भने, ‘विपक्षी नौवटा दलका उपत्यकास्तरीय प्रतिनिधिहरूको बुधबारको बैठकले आन्दोलनलाई प्रभावकारी बनाउने कार्यक्रम तय गर्नेछ ।’
बडूका अनुसार बुधबार बिहान विपक्षी दलका उपत्यकाका जिल्ला प्रमुख र उपत्यका हेर्ने प्रमुखहरूलाई सरकारविरुद्ध आन्दोलनका कार्यक्रम बनाउने जिम्मा दिइएको छ । माघ १२, १६ र २६ गते गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न विपक्षी दलले बुधबार (आज) साढे बाह्र बजे कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गर्दै छन् । विपक्षीले प्रधानमन्त्रीकै कारण दलीय सहमति नभई चुनावसमेत हुन नसक्ने अवस्था आएको भन्दै सरकारलाई सडकबाटै परास्त गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया