फेरि थपियो म्याद

काठमाडौं, २३  मंसिर । दुईपटक दिएको समयसीमामा पनि नयाँ प्रधानमन्त्रीको नाम सिफारिस नभएपछि राष्ट्रपति डा. रामवरण यादवले अर्काे ६ दिन म्याद थप गरेका छन् । दोस्रोपटक थपिएको समयसीमा सकिएको भोलिपल्ट शुक्रबार राष्ट्रपति यादवले तेस्रोपटक समयसीमा थपेका हुन् ।
दुईपटक थपिएको समयसीमामा पनि दलहरूले प्रधानमन्त्रीको नाम सिफरिस गर्न नसकेपछि बिहीबार बसेको प्रमुख चार दलको बैठकले समय थप्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति यादवबीच शुक्रबार छलफल भएपछि सहमतीय सरकार गठनका लागि दलहरूले थप ६ दिनको समय पाएका हुन् ।
शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति यादव र एमाओवादी अध्यक्ष दाहालबीच भएको छलफलमा दाहालले चार दलको निर्णयबारे जानकारी गराउँदै राष्ट्रपतिसमक्ष थप समय माग गरेका थिए । दाहालको आग्रहपछि राष्ट्रपतिले ६ दिनको समयावधि थप गरेका हुन् ।
राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको दोस्रो समयसीमाको अन्तिम दिन बिहीबार सेना समायोजन विशेष समितिको कार्यालयमा बसेको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठकले राष्ट्रपतिसँग फेरि समय थप गर्न माग गर्ने सहमति गरेका थिए । चार दलबीचको सहमतिअनुरूप म्याद थपका लागि आग्रह गर्न एमाओवादी अध्यक्ष दाहाल शुक्रबार राष्ट्रपति भवन गएका थिए ।
राष्ट्रपति र दाहालबीच भएको एक घन्टाभन्दा लामो छलफलमा दलहरूबीच सहमतिका लागि भइरहेको प्रयासबारे दाहालले राष्ट्रपतिलाई अवगत गराएका थिए । ‘दलहरूबीच भएको सहमतिअनुरूप सहमतिका लागि समयसीमा थप गर्न मैले राष्ट्रपतिलाई अनुरोध गरेको छु,’ राष्ट्रपतिसँगको भेटपछि दाहालले भने । राष्ट्रिय सहमतिको सरकार गठन, नयाँ संविधानसभा निर्वाचनका लागि आवश्यक ऐननियम तथा कानुनको व्यवस्थालगायत विषयमा दलहरूबीच गम्भीर छलफल भइरहेकाले म्याद थपेर भए पनि सहमति गर्नुपर्छ भन्ने समझदारीअनुसार आफूले राष्ट्रपतिलाई समयसीमा थप्न आग्रह गरेको दाहालले बताएका थिए ।
भेटमा राष्ट्रपति यादवले विघटित संविधानसभाको ठूलो दलको हैसियतले सहमति कायम गर्न एमाओवादीको महत्त्वपूर्ण भूमिका हुने दाहाललाई सम्झाएका थिए । ‘शान्तिसम्झौतामा हस्ताक्षर गर्ने नेताका हैसियतले तपाईंको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने स्मरण गराउनुभयो,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले भने, ‘उहाँले छिटोभन्दा छिटो सहमति गरेर आगामी वैशाखमा निर्वाचन गर्न आग्रह गर्नुभयो । दलहरूबीच भइरहेको वार्ता र संवाद हेर्दा थपिएको समयभित्रै सहमति हुन्छ भन्नेमा मैले विश्वास दिलाएँ ।’
राष्ट्रिय सहमति जुटाउन भन्दै राष्ट्रपति यादवले दिएको दोस्रो समयसीमा बिहीबार सकिएको थियो । राष्ट्रपतिले दिएको दोस्रो समयसीमामा पनि दलहरू आ–आफ्ना अडानबाट टसमस नभएपछि म्याद गुज्रिएको थियो ।

प्रतिक्रिया