तेस्रोलिंगीले लगिन् शिशु

नेपालगन्ज, ९ मंसिर । बेवारिसे अवस्थामा फेला परेका तीनमहिने शिशु तेस्रोलिंगीले लगेकी छन् । महिला तथा बालबालिका कार्यालय बाँकेले सिडिओ कार्यालयको अनुमतिमा नेपालगन्ज फुलटेक्राकी तेस्रोलिंगी रज्जब अलि उर्फ नेपाली गुडियाले शिशु लगेकी हुन् ।

आमाबाबुले नेपालगन्ज–१ मा रहेको शिवमन्दिर जाने सडकमा बेवारिसे छाडेर गएको शिशुको संरक्षण गर्ने दायित्व तेस्रोलिंगीले पाएकी हुन् । घरायसी पृष्ठभूमि र बच्चाको पालनपोषण गर्न सक्ने/नसक्ने अध्ययन नगरी शिशु दिइएको भन्दै नेपालगन्जमा असन्तुष्टि पनि बढेको छ ।
महिला तथा बालबालिका कार्यालयको सिफारिस पत्र देखाउँदै शिशुको उपचार भइरहेको भेरी अञ्चल अस्पताल धाइरहेकी तेस्रोलिंगी रज्जबलाई शिशु लिनबाट प्रहरीले रोकेको थियो ।
‘प्रशासनले नै शिशु दिन सिफारिस गरेपछि हामीले के गर्ने ?’ जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विक्रमसिंह थापाले भने । जिल्ला प्रहरी कार्यालय बाँकेको गस्ती टोलीले २३ कात्तिकमा नेपालगन्ज–१ स्थित शिवमन्दिरको सडकमा फेला पारेपछि शिशुलाई भेरी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो । रज्जबले शिशुको नामसमेत राख्न भ्याइसकेकी छन् । उनले शिशुको नाम ‘दिल जान’ राखेकी छन् । ‘मैले छोरी पनि यस्तै शिशु लिएर पालेकी हुँ,’ रज्जबले भनिन्, ‘अब छोरा पनि पाल्छु ।’

 

प्रतिक्रिया