काठमाडौं । नेपालमा कुसंस्कृतिको रुपमा मौलाउँदै गएको यातनाका विषयमा ‘मरेर’ बाँचेकाहरु…नामक डकुमेन्ट्री तयार पारिएको छ ।
३२ मिनेटको डकुमेन्ट्रीलाई पत्रकार गणेश पाण्डेले निर्देशन गरेका छन् । राजु भण्डारीले सम्पादन र बिनोद विष्टले छायाङ्कन गरेको पाण्डेले बताए । डकुमेन्ट्रीमा बाँके र बर्दियालगायतका जिल्लामा माओवादीको सशस्त्र द्वन्द्वका क्रममा राज्य र माओवादीको चरम यातनाबाट मरेतुल्य जीवन विताउन बाध्य सर्वसाधारणको भोगाई र समस्यालाई प्रतिनिधिमुलक घटनाको रुपमा प्रस्तुत गरिएको छ ।
त्यसैगरी, पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा तत्कालीन नेताहरुले भोगका समस्याको प्रतिनिधिमुलक घटनाका रुपमा पूर्व गृहमन्त्री भीम रावलको घटनालाई उठान गरिएको पाण्डेको भनाई छ ।
रावल लगायतका नेतालाई भैरहवा कारागारमा यातना दिइदा २०३८ सालमा उनको मृत्युको खबर सार्वजनिक भएको थियो ।
राणाशासन, पन्चायत, बहुदलीय प्रजातन्त्र, माओवादीको सशस्त्र युद्ध र जनआन्दोलन हुँदै मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरिसक्दा पनि नेपालको कानूनले यातनालाई अझै अपराधका रुपमा स्वकारेको छैन ।
एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्माले डकुमेन्ट्रीले यातनाविरोधी अभियानलाई अझ सशक्त बनाउने बताईन ।
प्रतिक्रिया