चितुवाको आक्रमणबाट मर्नेको संख्या १४ पुग्यो

 

कैलाली, ४ कात्तिक । बैतडीमा फैलिएको चितुवाको आतंक नियन्त्रणमा आएको छैन । चितुवालाई नियन्त्रणमा लिन ठूलो संख्यामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन्यजन्तु विशेषज्ञ खटिएको भए पनि नरभक्षी चितुवालाई भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसअघि १३ को ज्यान लिइसकेको चितुवाले मंगलबार साँझ पुन: एक महिलालाई आक्रमण गरेर मारेको छ । कञ्चनपुर घर भएकी २९ वर्षीया पार्वती चन्दलाई दसँै मनाउन माइती घर आएका बेला आक्रमण गरेर मारेको इन्स्पेक्टर लालबहादुर साउदले बताए । चन्द केही दिनअघि माइतीघर आमचौर–८ मा दसैँ मनाउन आएकी थिइन् । घाँस काटेर फर्कने बेला साँझमा उनलाई चितुवाले झम्टेर मारेको हो । चन्दको चितुवाको आक्रमणबाट मृत्यु भएको खबर पाउनेबित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल गएको र मृतक चन्दको शव बरामद गरेर आफन्तलाई बुझाएको साउदले जानकारी दिए ।
करिब एकवर्षदेखि बैतडीको तल्लो स्वाराडमा फैलिएको चितुवा आतंकले चौधको ज्यान गइसकेको छ । यो क्षेत्रमा एउटा मात्र चितुवा रहेको र त्यसलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीयवासीमा आतंक फैलिएको बैतडीका सञ्चारकर्मी भरत खत्रीले बताए । चितुवाले आतंक फैलाएपछि त्यसक्षेत्रका सबै विद्यालयको पठनपाठन निर्धारित समयअगावै बन्द भएको र सर्वसाधारण अत्यावश्यक कामबाहेक एक ठाउँबाट अर्को ठाउँ जान छाडेको खत्रीले जानकारी दिए ।
चितुवाले एकपछि अर्कोलाई आक्रमण गरेर मार्न थालेपछि एक साताअघिदेखि हतियारसहित सेनाको ४५, कञ्चनपुरस्थित सशस्त्र प्रहरीको शैलेश्वरी गणबाट डिएसपीको नेतृत्वमा ४५, नपाल प्रहरी खटिएको भए पनि नरभंक्षी चितुवा फेला परेको छैन । त्यस्तै, चितुवाको आतंक बढेपछि वन विभागको आरक्ष विभागले क्षेत्रमा शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट वन्यजन्तु विशेषज्ञ बेन्तीराम चौधरी र बर्दिया राष्ट्रिय निकुञ्जबाट सुमन मल्ललाई पनि पठाएको बैतडीका डिएफओ अमर बुलनले बताए ।

प्रतिक्रिया