कर्णालीमा खाद्यान्न पठाइँदै

नेपालगन्ज : चाड पर्वलाई लक्ष्य गर्दै कर्णालीका दुर्गम हिमाली जिल्लामा चामल अभाव हुन नदिन खाद्य संस्थानले चामल ढुवानीलाई तीव्रता दिएको छ ।

पर्व विशेषमा चामल अभाव हुन नदिन नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जले कर्णालीका दुर्गम जिल्ला कालिकोट, हुम्ला, जुम्ला, डोल्पा र मुगुमा सडक तथा हवाईमार्गबाट चामल पुर्‍याउने काम तीव्र गतिमा भइरहेको जनाएको छ ।
संस्थानको नेपालगन्जस्थित गोदामबाट ट्रकमार्फत कालिकोटका लागि चामल ढुवानी गर्ने कार्य भइरहेको छ । दसैँ तथा तिहारमा चामल अभाव हुन नदिन संस्थानले कालिकोटमा ५ सय, मुगुमा ८ सय, जुम्लामा एक हजार, डोल्पामा एक हजार दुई सय तथा हुम्लामा हजार क्विन्टल चामल पुर्‍याउने लक्ष्यका साथ चामल ढुवानी भइरहेको संस्थानका भेरी अञ्चल प्रमुख शंकर सापकोटाले बताए ।
यातायात सुविधा नपुगेको हुम्लामा नेपालगन्ज तथा सुर्खेतबाट हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी हुने गरेको छ । हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले एक केजी चामल हुम्ला पुर्‍याउन करिब १ सय ५ रुपियाँ लाग्ने गरेको छ । हुम्लालगायत डोल्पा, मुगु, जुम्ला र कालिकोटका लागि खाद्यान्न पुर्‍याउन संस्थानले नेपालगन्ज तथा सुर्खेतका गोदाममा चालम भण्डार गरी चामल राखेको छ ।
संस्थानसँग खाद्यान्न मौज्दात भए पनि ढुवानीका लागि सरकारले उपलब्ध गराउने अनुदानको रकम समयमा उपलब्ध नभएका कारण खाद्य अभाव रहेका जिल्लामा चामल पुर्‍याउन समस्या हुने गरेको छ । लामो समयदेखि गोदाममा राखिएको चामललाई पुन: प्रशोधन तथा प्याकेजिङ गरी ती जिल्लामा पठाउने गरिएको छ । (सौस)

फाल्गुनन्द मार्ग खुल्यो

इलाम : अविरल वर्षासँगै रतुवा खोलामा पानी बढेपछि बन्द रहेको फाल्गुनन्द मार्ग चार महिनापछि खुलेको छ । झापाको दमकदेखि इलामको बाँझो–चिसोपानी हुँदै पाँचथरको सीमावर्ती रविसम्म जोड्ने फाल्गुनन्द मार्गको पुनर्निर्माण र मर्मतपछि सञ्चालनमा आएको हो । दमक–चिसोपानी–रवि जोड्ने सो मार्गमा सवारीसाधन सुचारु
भएका छन् ।
अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो खसेको र दमकलबाट ११ किलोमिटर दूरी रतुवा खोलामा पानी बढेपछि गत असार पहिलो सातादेखि सो सडक अवरुद्ध भएको थियो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेश सुब्बाका अनुसार वर्षासँगै सडकका विभिन्न स्थानमा गएको पहिरो स्काभेटर प्रयोग गरी हटाइएको, खाल्डाखुल्डी पुरिएको र बाढीले थुपारेको ढुंगासमेत पन्छाउने काम सिद्धिएपछि सो मार्गमा गाडी नियमित आवत–जावत गर्न थालेका छन् ।
दमकबाट इलामको बाँझो, इभाङलगायत विभिन्न गाविस हुँदै रविसम्म पुग्ने सो सडक खुलेपछि इलामको बाँझो, इभाङ, गजुरमुखी, लुम्दे र पाँचथरका दर्जन बढी गाविसका उपभोक्ताले राहत महसुस गरेका छन् । सडक खुलेपछि दमकबाट दैनिक उपभोग्य सामग्री पहाडी क्षेत्रमा ल्याउन र पहाडबाट कृषिउपज तराई लैजान साथै मानिसलाई आवत–जावत गर्नसमेत सहज भएको छ ।
वर्षायाममा चार महिनासम्म बन्द हुने सो मार्गमा हिउँदमा भने दैनिक दुई दर्जन मालवाहक र यात्रुवाहक सवारीसाधन आवत–जावत गर्छन् । यसअघि सो सडक बन्द रहँदा जिल्लाको बाँझो, इभाङ, गजुरमुखी, लुम्देलगायत गाविसका बासिन्दाले कष्टसाथ भरिया लगाएर दैनिक उपभोग्य सामग्रीको जोहो गर्दै आएका थिए । दमकबाट ४६ किलोमिटर यात्रा गर्दा रवि पुग्न सकिन्छ भने मेची राजमार्ग भएर जाँदा इलाम–राँके हुँदै ७६ किलोमिटर बढी दूरी पार गर्नुपर्छ । (सौस)

प्रतिक्रिया