कठोर कदम चाल्न राष्ट्रपतिलाई बाध्यता

दाङ, ११ असोज । उप–राष्ट्रपति परमानन्द झाले दलहरुले लामो समय सम्म पनि मुलुकलाई निकास दिन नसके राष्ट्रपतिले बाध्यतामा कठोर कदम चाल्नु पर्ने अवस्था श्रृजना हुन सक्ने बताएका छन् ।
दलहरुले नयाँ निर्वाचनमा जाने सहमति गरे पनि उपयुक्त कदम चाल्न नसकेको उनको आरोप छ । ‘लामो समय यथास्थित रहने हो भने जन–चाहाना अनुसार राष्ट्रपतिले निकासका लागि कदम चाल्न बाध्य हुन पर्छ ।’
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज तुल्सीपुरमा आयोजना गरेको साक्षात्कारमा उपराष्ट्रपति झाले दलहरुलाई सहमतिमा निकास खोज्न सुझाव दिए ।
दलहरु आ–आफ्नै अनुकुलतामा हिड्न थाले पछि उप–राष्ट्रपति झाले सहमति नभए राष्ट्रपति सकृय हुन सक्ने चेतावनी दिएका हुन् ।
राष्ट्रपतिले सहमति कायम गर्न दलहरुलाई पटक–पटक आग्रह गर्ने गरेको प्रसङग उठाउदै उनले छिट्टै निकास निस्कनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘सहमति हुन नसके राष्ट्रपतिले उचित र कठार कदम चाल्नै पर्छ ।’
उपराष्ट्रपति झाले दलहरु सर–सल्लाहका लागि आफू समक्ष नआउने गरेको गुनासो गरे । उनले भने, ‘दलका नेताहरु सल्लाह लिन म हुँन पनि आउँदा राम्रो हुन्छ ।’

प्रतिक्रिया