सिडिओ र एसपीलाई लखेट्ने चेतावनी

नेपालगन्ज, ११ असोज । सडक ऐनअनुसार सडक विस्तारको पक्षमा रहेका बाँकेका सिडिओ र एसपीलाई नेकपा (एमाले) बाँकेका जिल्लास्तरीय एक नेताले जिल्लाबाट लखेट्ने चेतावनी दिएका छन् ।

एमालेका जिल्लास्तरीय नेता तथा कोहलपुर नगरका इन्चार्ज कर्ण थापाले बाँकेका सिडिओ ढुण्डीराज पोख्रेल र एसपी विक्रमसिंह थापालाई जिल्लाबाट लखेट्ने चेतावनी दिएका हुन् । नेपालगन्ज–कोहलपुर सडकखण्डको क्षेत्राधिकार सडकबाट दायाँबायाँ २५–२५ मिटर बनाउने कि २१ मिटर बनाउने भन्ने विषयमा जिल्लाका राजनीतिक दल विभाजित भइरहेका बेला एमाले नेताले यस्तो बताएका हुन् ।
सिडिओ र एसपीले सडक ऐनअनुसार नेपालगन्जदेखि सुर्खेतको बांगेसिमलसम्मलाई रत्नराजमार्ग कायम गरेको र त्यसअनुसार सडकको क्षेत्राधिकार २५ मिटर हुने बताउँदै आएका छन् । साथै नेपाली कांग्रेस, एकीकृत नेकपा (माओवादी), नेकपा–माओवादी, राष्ट्रिय जनमोर्चा र स्वयम् एमालेसमेत सडक ऐनअनुसार सडकको क्षेत्राधिकार २५ मिटर नै हुनुपर्ने माग गर्दै आएका छन् ।
सिडिओ र एसपीले आफूहरू कानुनको पालना गर्ने निकायमा भएकाले कसैको दबाबमा आएर कानुन मिच्न नसक्ने बताइरहेका बेला एमाले नेताले लखेट्ने चेतावनी दिएका हुन् । तर एमाले नेताले भने सडक विस्तार नियमविपरित २१ मिटर हुनुपर्ने पक्षमा आवाज उठाउँदै सिडिओ र एसपीलाई जिल्लाबाटै लखेट्ने चेतावनी दिए । ‘सडक बनाउँछु भन्नेले ३८ मिटर भए पुग्छ भनिरहेका बेला बाँकेका सिडिओ र एसपीले २५ मिटरभित्रको घर भत्काएरै छाड्छु भन्दै फुर्ति लगाइरहेका छन्,’ नेपालगन्ज–जमुनाह सडक संघर्ष समितिले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता थापाले भने, ‘खाइनखाई र ऋण लिएर बनाएको घर भत्काउँछु भन्ने सिडिओ र एसपीलाई लखेट्नुपर्छ ।’ समितिले सडकको क्षेत्राधिकार २१ मिटर हुनुपर्ने पक्षमा अभियान चलाइरहेको छ ।
एसपी थापाको नाम नै किटेर एमाले नेता थापाले गम्भीर आरोप लगाउँदै भने, ‘एसपीले जस्तो भ्रष्टाचार गरेर बनाएको घर होइन, हाम्रो जतिखेर मन लाग्यो त्यहीबेला भत्काउने ।’ उनले बाँकेका सिडिओ पोख्रेललाई जनताको सेवा गर्न आएकाले जनताकै पक्षमा लाग्न चेतावनी दिए । पत्रकार सम्मेलनमा उत्तेजित हुँदै थापाले भने, ‘सिडिओ जनताको सेवा गर्न आएका हुन् कि घर भत्काउन ?’
उनले सिडिओ र एसपीलाई स्पष्टीकरण सोध्नुपर्ने बताए तर उनले स्पष्टीकरण आफै सोध्ने कि गृह मन्त्रालयले सोध्ने भन्ने खुलाएनन् । एसपी र सिडिओ मात्र नभई एमाले नेता थापाले आफ्नै दल नेकपा (एमाले) लाई पनि कारबाही गरेर देखाउन चेतावनी दिए । ‘मलाई एमालेले खान दिएको छ र,’ थापाले भने, ‘२५ मिटर भन्दै हिँड्ने । मलाई जनताले खान दिएको छ, त्यही भएर २१ मिटरकै पक्षमा आन्दोलन गर्नुपरे गर्छु । एमालेले कारबाही गरेर त देखाओस् ।’

प्रतिक्रिया