‘यहाँ देशको छ चिन्ता’

पोखरा : पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई जस्तै आफूलाई पनि देशको चिन्ता रहेको बताएका छन् । धार्मिक भ्रमणका क्रममा सोमबार तनहँुको दमौलीस्थित पञ्चमन्दिरको दर्शनपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले बिगँरदो मुलुकको स्थितिप्रति जनतालाई जस्तै आफूलाई चिन्ता लागेको
बताएका हुन् ।
‘अब तपाईंहरू जनताको सहभागिता देखिरहनुभएको छ,’ राजतन्त्र पुन:स्थापनाको विषयमा सोधेको प्रश्नमा उनले हाँसेर भने, ‘अहिलेलाई यत्ति बोलौँ ।’ पश्चिमाञ्चलको गण्डकी र धौलागिरि अञ्चलको साताव्यापी धार्मिक भ्रमणका लागि बिहीबार पोखरा आएका पूर्वराजा शाहले सोमबार तनहुँको पञ्चायन मन्दिर र दुर्गा मन्दिरमा दर्शन गरेका छन् । उनी पोखराबाट तनहुँ जाँदा बाटो बाटोमा समर्थकहरूले फूलमालाले स्वागत गरेका थिए । शाह तनहुँको दुलेगौँडा र थर्पुमा गाडीबाटै आर्लेर समर्थकहरूबीच पुगेका थिए । उनका समर्थकले दमौलीको ट्राफिक चोकबाट सफासडक हुँदै फूलमालाले स्वागत गर्दै बाजागाजाका साथ शिव पञ्चायन मन्दिर लगेका थिए । ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,’ जस्ता नारा पनि लगाइएको थियो ।
दमौलीको सफा सडक हुँदै शिव पाञ्चायन मन्दिर पुगेका पूर्वराजाले शिवको मन्दिरमा करिब १५ मिनेट पूजा गरेका थिए । पञ्चमन्दिरबाट पूर्वराजा सिधै जिविस अतिथिगृहमा पुगेर केहीबेर समर्थक तथा शुभेच्छुकका कुरा सुनेका थिए । दिउँसो धार्मिक भ्रमणका लागि प्रहरी र शिवसेनाको सुरक्षासहित दमौली पुगेका पूर्वराजा ज्ञानेन्द्रले पञ्चमन्दिरका साथै नजिकै रहेको दुर्गा मन्दिरको दर्शन गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह तनहँुको धार्मिक भ्रमण सकी साँझ पोखरा फर्किएका छन् । यता, पूर्वराजा शाहले मंगलबार पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनीको दर्शन गर्ने कार्यक्रम छ । (सौस)

प्रतिक्रिया