रणनीति बनाउन पूर्व सभासद्हरुको भेला

काठमाडौं, ४ असोज । प्रमुख दलहरुको आ–आफ्नै अडानका कारण संविधानसभा पुनःस्थापनाको एजेण्डामा अलपत्र परे पछि सो विषयमा निवर्तमान सभासदलहरुले रणनीति तयार पर्ने भएका छन् ।
रणनीति बनाउन निवर्तमान सभासदलहरुले भोली शुक्रबार दिउसो एक बजे सिंहदरबारमा भेला समेत आह्वान गरेका छन् । उनीहरुले भेलाबाट आउने सुझाव र निर्णय अनुसार अगाडि बढ्ने निर्णय गर्ने कांग्रेसका निवर्तमान सभासद् शोभाकर पराजुलीले जानकारी दिए ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज जम्मा भएका केही पूर्व सभासद्ले शुक्रबार दिउसो भेला बोलाउने निर्णय गरेका हुन् ।
निवर्तमान सभासद्हरुका तर्फबाट कांग्रेस संसदीय दलको कार्यालयबाट आज जारी सूचना अनुसार भेलामा उपस्थित हुन सबै दल आवद्ध पूर्व सभासदलाई आह्वान गरिएको छ ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले संविधानसभा पुनःस्थापना गर्ने बाटो बन्द भएको भन्दै नयाँ निर्वाचनमा जाने सहमति गरे लगत्तै पुनःस्थापनाको पक्षमा रहेका निवर्तमान सभासद्ले रणनीति तयार पार्न थालेका हुन् ।
प्रमुख दलमा आबद्ध केही निवर्तमान सभासद्ले संविधानसभा पुनःस्थापनाको पक्षमा लविङ गर्दै आएका छन् । उनीहरुले दलहरुका बीच सहमति गरेर छोटो समयका लागि संविधानसभा पुनःस्थापनाबाट नयाँ संविधान जारी गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया