तडकभडक : नसक्नेलाई खिन्नता

तिज पर्वलाई बुझ्ने आ–आफ्नै बुझाइ छन् । सौन्दर्य कला व्यवसायी संघ नेपालकी अध्यक्ष कमला श्रेष्ठले बुझेको तिज परम्पराको एउटा महत्त्वपूर्ण सांस्कृतिक निरन्त रता हो । महिलाले व्रत बस्नु भगवान् शिवको आराधना गरी श्रीमान् र परिवारका सदस्यको दीर्घायुको कामना गर्नु पनि हो ।
हिजोआजको तिजमा आएको परिवर्तनलाई उनी समयले ल्याएको परिवर्तन ठान्दछिन् । कमलाको धारणा छ– ‘हिजोको मनोरञ्जनको शैली र आजकोमा फरक छ । तिजमा गाइने गीत लगाउने गहना कपडा सबैमा परीवर्तन भइसकेको छ । क्षत्रीकी छोरी नेवार केटासँग विवाह गरेर आउँदा उनको घरमा तिज मनाउने चलन नै थिएन । आफू आएपछि सबैलाई बोलाएर दर खुवाएँ, सबै खुसी भए ।’ नन्द आमाजू सबैले तिजमा भाउजू र बुहारीले बोलाउने परम्परा बसाउन सकेकामा खुसी व्यक्त गर्छिन् । तिजको परम्परा नभएको घरमा गएर पनि निरन्तरता दिँदै छिन् उनी । तिजबाहेक कुनै पनि व्रत बस्दिनन् । जहाँ पुगेको भए पनि उनी तिजमा घरमै आइपुग्छिन् व्रत बसे पनि श्रीमान्को गोडाको पानी भने खाँदिनन् ।
उनको बुझाइमा पहिले माइतीमा दर खान जानमा सीमित यो पर्व अहिले दिदीबहिनी र साथीसँगीको भेटघाट र खुसी आदानप्रदान गर्ने थलोका रूपमा विकास हुन थालेको छ । दिदीबहिनी, साथीभाइ, संघ/संस्था खोज्ने र जम्मा हुने कुरालाई सकारात्मक रूपमा लिने कमलालाई तडकभडक भने मन पर्दैन । उनको धारण छ – ‘अझ हाम्रो संघको कार्यक्रममा त एउटै रंगको साडी लगाउने परम्परा नै बसाइसकेका छौँ । जसका कारण फेसन र तडक भडकको गुन्जायस नै छैन ।’
त्यसो त कुपण्डोलमा रहेको ब्लिस ब्युटिपार्लर सञ्चालिका शोभा राणाले बुझेको तिज पनि उस्तै छ । विवाहित महिलले मात्र तिजको व्रत बस्नुपर्छ भन्ने मान्यताविपरीत आफूले बिहे नहँुदै पनि व्रत बसेको स्मरण गरिन् । परिवार भनेको श्रीमान्को मात्र होइन । समग्र परिवारका लागि व्रत बस्ने गरेको अनुभव सुनाइन् राणाले । शोभा पनि भान्जाभान्जी, नन्द–आमाजू बोलाएर दर खाँदै नाचगान गरेर तिजमा रमाइलो गर्छिन् । भन्छिन्– ‘उपहारका रूपमा म सौभाग्यको सामान दिन्छु ।’ यसरी सौभाग्यको सामान दिँंदा आफ्नो सौभाग्य बढ्ने कुरामा विश्वास गर्छिन् उनी । उनलाई पनि तिजका नाममा भएको भड्किलो कार्यक्रम मन परिरहेको छैन सबै महिलाको क्लब र पार्टीप्यालेसमा गएर तिज मनाउने हैसियत छैन । नसक्नेको मन खिन्न हुने गरी गहना कपडा देखाउने कार्यलाई नराम्रो मान्ने शोभा अरूजस्तै सामान्य व्रत बसेर तिज मनाउने गरेको बताउँछिन् ।
बूढानीलकण्ठमा रहेको शीतल ब्युटिपार्लरकी सञ्चालिका शीतल थापाले बुझेको तिज पनि श्रेष्ठ र राणाभन्दा फरक छैन । श्रीमान्को दीर्घायूका लागि बसिने निराहार व्रत र शिवजीको आराधना पनि गर्छिन् उनी । तिजका नाममा भएको तडकभडक मन पर्दैन उनलाई । अरूलाई देखाउनका लागि सकिनसकी गरिने अस्वस्थ प्रतिस्पर्धाले परम्परा र संस्कृतिप्रति मान्छेको मोह घट्ने उनको ठम्याइ छ । शीतलको नजरमा एक महिनादेखि तिज भन्दै कामधाम सबै छोड्नाले व्यापार/व्यवसाय घट्ने उनको चिन्ता छ । ऋण गरेर देखाइने आडम्बरले संंस्कृतिको जगेर्ना नहुने उनको धारणा छ । शीतलले पनि आफन्तलाई बोलाएर दर खुवाउने र उपहार दिने परम्परालाई निरन्तरता भने दिएकी छन् ।

प्रतिक्रिया