देशभर बडीगार्ड र ब्ल्याकमेल

काठमाडौं : आज शुक्रबारबाट दुई फ्रेस नेपाली चलचित्र बडिगार्ड र ब्ल्याकमेल देशभर प्रदर्शन हुँदै छन् । बडिगार्ड राजेन्द्र उप्रेतीको निर्देशनमा तयार भएको हो भने ब्ल्याकमेलका निर्देशक हुन्– मधुसूदन भट्टराई ।
जनकपुर मिडिया हाउसको दोस्रो प्रस्तुति स्वरूप शरद् अधिकारीले निर्माण गरेको ब्ल्याकमेल सस्पेन्स थ्रिलर चलचित्र हो । त्रिकोणात्मक लभ स्टोरीमा आधारित चलचित्रमा विश्वासिलो साथीले गरेको विश्वासघातको कथा छ । जो–कोहीलाई पनि एकैचोटि विश्वास गरिहाल्नु हुन्न भन्ने सन्देश चलचित्रले दिने निर्माण युनिटले जानकारी गरायो । सुमन सिंह, जीवन लुइँटेल, श्वेता भट्टराई, आरपी पन्त, योगेन्द्र श्रेष्ठ, नागेन्द्र रिजाल, शैलाजा पाण्डे, रश्मि भट्ट, नीरज पन्त आदि मुख्य कलाकार छन् । चलचित्रमा विपिन आचार्यको संगीत, शिव ढकालको छायांकन र प्रदीप श्रेष्ठको नृत्यनिर्देशन छ ।
त्यस्तै, विभिन्न समसामयिक सामाजिक विषयवस्तु समेटिएको बडिगार्ड सुशील पोखरेलले निर्माण गरेका हुन् । नयाँ अनुहार आकाशविक्रम शाहका साथ दिव्येश्वर गौतमको मुख्य भूमिका रहेको चलचित्र तिज पर्वको अवसर पारी क्यु सिस्टममा घुसाएर प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा शिवम् अधिकारीको लेखन, कृष्ण श्रेष्ठको छायांकन, हरि लम्सालको संगीत तथा बब्बु थापाको नृत्यनिर्देशन छ । (सौस)

प्रतिक्रिया