फुच्चिले चलचित्र निर्देशन गर्ने

काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको आगमन बढ्दै छ । यसअघि सुचित्रा श्रेष्ठ र रक्षा सिंह महिला निर्देशकका रूपमा देखापरेका थिए । अब अर्की महिला निर्देशक आउने भएकी छन्– फुच्ची प्रिया । छायांकनको तयारीमा रहेको चलचित्र कस्मेटिक लबमार्फत
उनी निर्देशकका रूपमा देखापर्न लागेकी हुन् ।
ठूला पर्दाको चलचित्र यही पहिलो भए पनि यसअघि उनले सुबेदार सायब, मिस डेस्टिनेसनलगायत आधा दर्जनजति छोटा चलचित्रको निर्देशन अनुभव सँगालिसकेकी छन् । उनले दर्जन हाराहारीमा म्युजिक भिडियो निर्देशन गर्न भ्याइसकिन् । पछिल्लो समय उनले गायक टक्क बुढाथोकीको आई लभ यु र ओ बाई बाई गीतको भिडियो निर्देशन गरिन् । जुन सांगीतिक बजारमा चर्चा कमाउन सफल छन् ।
‘म्युजिक भिडियो र छोटो चलचित्रको अनुभव ठूलो पर्दामा उतारूँ भन्ने लागेको हो,’ प्रियाले भनिन् । निर्देशनका अलावा स्पिड मिडिया नामक कम्पनी सञ्चालन गरेर ब्युटी र फेसनसम्बन्धी ‘र्‍याम्प सो’हरू समेत गर्दै आएकी प्रिया सानैदेखिको रुचिका कारण निर्देशनमा हात हालेको बताउँछिन् । उनी चलचित्र लेखन र अध्ययनलाई पनि सँगसँगै अगाडि बढाइरहेकी छन् । शिक्षा संकायमा ब्याचलर सकेर चलचित्र अध्ययनमा लागेकी प्रियाले चलचित्र निर्देशनले आफ्नो अध्ययनलाई अझ टेवा पुर्‍याउने बताइन् । ‘म सधैँ चुनौतीपूर्ण काम गर्न रुचाउँछु, त्यसैले निर्देशनमा हात हालेँ’, उनले भनिन् । कस्मेटिक लबमा युवाहरूको साथी सर्कुलर र मायाप्रेमको विषयवस्तु रहने उनले जानकारी गराइन् ।  (सौस)

प्रतिक्रिया