काठमाडौं, २९ भदौ । बिहे गरेको १२ वर्षपछि श्रीमतीले आफू समलिंगी भएको बताइन् भने श्रीमान्ले के गर्लान् ? स्वयम्भू–१५ का प्रदीप शाहीले श्रीमतीलाई ‘उपचारका लागि’ पुन:स्थापना केन्द्रमा राखेका छन् ।
१० वर्षीया छोरीकी आमा रजनीले एकाएक आफूलाई समलिंगीका रूपमा प्रस्तुत गरेपछि उनका श्रीमान् र माइती स्तब्ध बने । पछिल्लो समय प्रेमकुमारी नेपाली नामकी युवतीसित अन्तरंग सम्बन्ध बढाएकी रजनीले श्रीमान्सित सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । तर, अहिले उनलाई श्रीमान् र माइती पक्षको आग्रहमा धुलिखेलस्थित सरकारी पुन:स्थापना केन्द्रमा राखिएको छ । परिवारको निरन्तर दबाबपछि राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग र अधिकारकर्मीहरूको रोहबरमा रजनीलाई गत २२ गते पुन:स्थापना गृहमा लिइएको हो ।
‘१० वर्षकी छोरी छ, बिहे गरेको १२ वर्ष भयो । अहिले आएर कसरी समलिंगी हुन्छे ?’ रजनीका श्रीमान् प्रदीपले सौर्यसँग भने, ‘रिहावको परामर्शले कन्भिन्स हुन्छे कि भनेर केही समयका लागि त्यहाँ राखेका हौँ ।’ श्रीमतीसँग कहिल्यै झगडा नभएको तथा श्रीमतीले पनि कहिल्यै समलिंगीको जस्तो व्यवहार नगरेको उनी बताउँछन् । ‘एक्कासि उनले समलिंगी हुँ भन्दै हिँडेको देख्दा अचम्मित भएँ,’ उनले भने ।
श्रीमान्ले शारीरिक र मानसिक यातना दिएको भन्दै रजनीले जेठ २२ गते सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । सम्बन्धविच्छेदको मुद्दामा पहिलो तारिख धाउन २० असारमा काठमाडौं जिल्ला अदालत पुगेकी रजनीलाई अदालत परिसरबाटै घर र माइती पक्षले मिनिबसमा हालेर गौशालास्थित टेकबहादुर रायमाझी आरोग्य केन्द्रमा पुर्याएका थिए । रजनीले आफू समलिंगी भएको बताउँदा आफन्तले उनलाई पागल भएको आरोप लगाए ।
आºनै घरमा डेरा लिएर बस्ने प्रेमकुमारीसित रजनीको प्रेम झांगिएको थियो । तर, उनले पछिसम्म पनि आफू समलिंगी भएको स्विकारेकी थिइनन् । अहिले आएर समलिंगी हुँ भन्दा परिवारले पत्याएको छैन । ‘यत्रो वर्षसम्म सद्दे मान्छे, अहिले एकाएक कसरी समलिंगी हुन सक्छ ?’ रजनीका काका कविराज शाही भन्छन्, ‘आजसम्मको उसको व्यवहार हेर्दा हामीलाई त विश्वास लाग्दैन । त्यसैले केही समय परामर्शमा राखेका छौँ । त्यसपछि पनि उसमा केही परिवर्तन नै भएन भने समलिंगी नै रहिछ भन्ने मान्नुपर्ला ।’ परिवार तथा आफन्तले रजनीलाई कसैले उक्साएको आशंका पनि गरेका छन् ।
समलिंगीसम्बन्धी विशेषज्ञहरू भने बुढेसकालमा पनि आफू समलिंगी भएको थाहा हुन सक्ने बताउँछन् । समलिंगी तथा समलिंगी विषयकै अनुसन्धानकर्ता कृष्णगोपाल श्रेष्ठ ‘केदार’ ले व्यक्तिलाई जतिबेला महसुस हुन्छ र वातावरण सहज लाग्छ त्यतिबेला नै ऊ खुल्ने बताए । आºनो पनि छोरी जन्मिएको उल्लेख गर्दै श्रेष्ठले सौर्यसँग भने, ‘म पनि विवाहपश्चात् खुलेको समलिंगी हुँ ।’ समाजको डरले पनि अधिकांश समलिंगी खुल्न नसक्ने र मन मिल्ने साथी भेटेपछि मात्रै साहस बटुल्ने उनको अनुभव छ ।
रजनीले परिवारबाटै आफू पीडित भएको बताएकी छन् । ‘म पहिला खुल्न सकिनँ । पहिलोचोटि दुई वर्षअघि मैले आमाबुबालाई आफू समलिंगी भएको बताएकी थिएँ,’ उनले सौर्यसँग भनिन् । अदालतबाट आरोग्य केन्द्र पुर्याइएपछि उनलाई परिवारले विभिन्न ठाउँमा घुमाएर उनको समलिंगी मानसिकतामा परिवर्तन ल्याउने प्रयास गरेको थियो । रजनी भन्छिन्, ‘यदि मेरो चाहना परिवर्तन हुने भए त बितेको दुई महिनामा भइसक्थ्यो, किन मलाई फेरि परामर्शको आवश्यकता ?’ उनले आºनो पार्टनर प्रेमकुमारीसित बस्न पाउनुपर्ने माग गरेकी छन् ।
यता, रजनीकी पार्टनर प्रेमकुमारीले पनि आफूहरूलाई सँगै बस्न दिनुपर्ने बताइन् । ‘पुन:स्थापना केन्द्रमा राख्ने हो भने मलाई पनि त्यहीँ बस्न दिनुपर्छ,’ उनले भनिन् ।
रजनी समलिंगी भए पनि रिहावमा राख्न नमिल्ने अधिकारकर्मीहरूको भनाइ छ । नीलहीरा समाजका अध्यक्ष तथा पूर्वसभासद् सुनीलबाबु पन्तले समलिंगीको आरोपमा रिहावमा राख्न नहुने बताए । ‘विनाकारण रिहावमा राख्नु उसलाई थप यातना दिनु र अपराध गर्नु हो,’ पन्तले भने, ‘रजनीलाई स्वतन्त्रताको खाँचो छ, उपचारको होइन ।’
०६४ पुस ६ गते सर्वोच्च अदालतले समलिंगी जोडी छुट्टै बस्न पाउनुपर्ने आदेश गरे पनि यसकै लागि थप यातना र हिंसा दिइनु मानवअधिकार हनन भएको अधिकारकर्मी बताउँछन् । यद्यपि, नेपालको कानुनले समलिंगी विवाहको परिकल्पनासमेत नगरेको अधिवक्ता मीरा ढुंगानाको भनाइ छ ।
प्रतिक्रिया