एमाओवादीको मजदुर भित्र विवाद

काठमाडौ, २७ भदौ । एकीकृत माओवादीको भातृ संगठन अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघ भित्रको विवाद पुनः चर्किएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने शालिकराम जम्कट्टेल समूहले आह्वान गरेको राष्ट्रिय सम्मेलनलाई उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराई निकट मजदुरले बहिष्कार गर्ने घोषणा गरेका छन् ।
भट्टराई निकटका असन्तुष्ट मजदुर नेताहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर जम्कट्टेलले आह्वान गरेको सम्मेलन बहिष्कार गर्ने निर्णय गरेका हुन् । असन्तुष्ट पक्षले अलग्गै आफ्नो सम्मेलन पनि सार्वजनिक गरेको छ ।
लामो समयदेखि कायम रहेको विवाद पार्टीले हस्तक्षेप गरी मिलाएको भनिए पनि पछिल्लो समयमा पुनः पार्टी अध्यक्ष दाहाल पक्षधर अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष जमकट्टेलले होटल मालिक प्रकाश श्रेष्ठको नेतृत्वमा सम्मेलन आयोजक समिति गठन गरेका थिए । श्रेष्ठ संयोजक भएपछि भट्टराई पक्षधर मजदुर नेता आक्रोशित भएका हुन् ।
पार्टी भित्र प्रधानमन्त्री भट्टराई पक्षधर मानिएका मजदुर संघ ह्यात, एभरेष्ट, ¥याडिसन, सांग्रिला होटल, अखिल नेपाल गलैचा संघ, सेक्यूरिटी मजदुर संघले जमकट्टेल पक्षको सम्मेलन बहिष्कार गरेको जनाएका छन् ।
भट्टराई समूहले नयाँ सम्मेलनका लागि आयोजक समिति समेत गठन गरेका छन् । उनीहरुको समिति १ सय २६ सदस्यीय छ ।
असन्तुष्ट समूहले संस्थापन पक्षका श्रेष्ठ ‘यूनिक फास्टफुड’ सहित विभिन्न होटलको सन्चालक रहेको भन्दै मालिकको नेतृत्वमा मजदुरको हित हुन नसक्ने जनाएका छन् ।
मजदुर नेता मुक्ति दाहालले पार्टी कार्यालय खरिद गर्दा करोडौ रुपियाँ चन्दा उठाएर दिएको, कृष्णसेन ईच्छुक स्मृति प्रतिष्ठान र जनदिशा राष्ट्रिय दैनिक प्रकाशन र स्तरोन्नतीका लागि सेयर वापत भनेर उठाएको करोडौ रुपियाँ सेयर वितरणनै नगरी हिनामिना गरेको आरोप जम्कट्टेल समूहलाई भट्टराई पक्षले लगाएको छ ।
त्यसै गरी मजदुर सहिद स्मृति सहकारी निमार्णका लागि सेयरबापत उठाईएको करोडौ रकम सेयर प्रमाणपत्र नै नदिई अपचलन गरिएको, लेवी रकम अपचालन गरेको, अखिल नेपाल ट्रेड यूनियन महासंघको चौथो महाधिवेशन गर्न उठाएको करोडौ रुपियाँमा भ्रष्टाचार गरेको, छ दिने आम हडतालका क्रममा उठाएको अरवौ रुपियाँ चन्दा अपचलन भएको आरोप पनि पत्रकार सम्मेलनमा लगाईएको थियो ।
उनीहरुले एमाओवादी भित्रको अरबौ रुपियाँको भ्रष्टाचारको छानविन गरेर यथार्थ सार्वजनिक गर्न समेत माग गरेका छन् । माग पुरा नभए उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराई समूहका मजदुर नेताले नेतृत्व विरुद्ध संघर्ष गर्ने समेत जनाएका छन् ।

प्रतिक्रिया