मलाई धेरै चलचित्रभन्दा पनि वर्षमा एउटा बनाऊँ तर राम्रो बनाऊँ भन्ने सोच थियो । त्यति बेलासम्म नेपालमा ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण भएका थिएनन् । मलाई चाहिँ त्यस्तै विषयवस्तुमा चलचित्र बनाउन मन लागिरहेको थियो । ऐतिहासिक विषयवस्तुमा लेखिएका नेपाली साहित्यिक कृति अध्ययन गर्न थालेँ ।
नाट्यसम्राट बालकृष्ण समको प्रेमपिण्ड निकै उत्कृष्ट लाग्यो । मैले धेरै पढेको पुस्तक पनि यही नै हो । पुस्तकको भूमिकामा समजीले सो विषयमाथि चलचित्र निर्माण होस् भन्ने आशय प्रकट गर्नुभएको रहेछ । कमलमणि दीक्षितले लेखेको भूमिकामा पनि त्यस्तै चाहना थियो । मलाई पनि समजीका सबै कृतिमध्ये यही उत्कृष्ट लाग्यो, चलचित्र बनाउने निर्णयमा पुगेँ ।
तर, यो विषयमा चलचित्र बनाउन त्यति सजिलो थिएन । ऐतिहासिक विषय भएकाले त्यसबारे थप जानकारी बटुल्न रिसर्च सुरु गरेँ । निकै चुनौती पनि देखेँ । पुस्तकमा उल्लिखित ऐतिहासिक पात्रलाई सुहाउने भेषभूषा, उति बेला प्रयोग हुने सामग्रीको जोहो गर्नु अनिवार्य थियो । दरबार, आँगनदेखि लिएर सबै कुरा तात्कालिक बेलाकै जस्तो देखाउनुपर्ने ।
स्क्रिप्ट तयारीसँगै अन्वेषण सुरु गरियो । त्यति बेलाका जर्नेल/कर्नेलले के लाउँथे, सुसारे कस्ता भएर बस्थेजस्ता जानकारी बटुल्न थालेँ । राणाकालीन समयका तहअनुसारका व्यक्तिका भेषभुषा, लवाइखवाइ, हिँडाइ, बोलाइ, गरगहना, छातेहरूको व्यवस्था यी सबैबारे बुझ्नु थियो । त्यसका लागि आफूभन्दा बूढा, उति बेलाको समय देखेभोगेकाहरूसँग भेटेँ । अनुसन्धान पूरा भयो ।
चलचित्रका गाह्रो काममध्ये स्क्रिप्टको तयारी पनि हो । समजीको सो कृति तीन सय पानाभन्दा बढी छ । सिनेमा त्यति लामो त पक्कै बनाउन सकिँदैन, जम्मा तीन वा पौने तीन घन्टासम्म बनाउनुपथ्र्यो । अब कृतिलाई छोट्याउन पर्यो, त्यसको मूल विषयवस्तु र घटनाक्रमलाई तोडमोड गर्नुु पनि भएन । यसरी छोट्याउँदा कतिपय लामा प्रसंगलाई गीतले जोड्ने गरी तयार पारेँ । जस्तो– गैह्रीखेतको सिरै हान्यो गीत एउटैले त्रिकोणात्मक मायाप्रीतिका प्रसंगलाई प्रस्तुत गर्छ । नायिका बैठके नकुलको पछि लागेकी छे । अर्कोतिर जर्नेल नायिकाप्रति आसक्त भएको देखाउनुपर्ने छ । अर्की केटी छ सुसारे, ऊ पनि नकुुुलको पछि लागेकी छ । यी मायाप्रीतिका प्रसंगमा समजीले धेरै पाना खर्चिनुभएको छ । मैलेचाहिँ ती सबै भावनालाई यही एउटा गीतबाट छोट्याएर प्रस्ट्याएँ ।
चार परिच्छेदमा बाँडिएको नाटकलाई मूल भावना नमर्ने गरी ठाउँठाउँमा काँटछाँट गरेर पाँच प्रतिशत स्क्रिप्ट आफैँले थपेर तयार पारेँ । अरू स्क्रिप्ट तयार पार्दा एक–दुईचोटिमै सकिन्थ्यो । यसमा चाहिँ तीन–चारचोटि नै लाग्यो, समय पनि तीन महिना बितेको छ स्क्रिप्टमै ।
अब चुनौती थियो, पात्र चयनको । सुरुमा मुख्य तीन पात्रलाई प्राथमिकता दिएँ । एउटा नायक, जसलाई नकुलको भूमिकामा प्रस्तुत गर्नु छ । सविता पात्रका रूपमा अभिनय गर्ने नायिका पनि चाहियो । अब अर्का नायककै बराबर भूमिकामा देखिने पात्र जर्नेललाई सुहाउने कलाकार पनि खोज्नुपर्यो ।
स्टेजदेखि कलाविधामा लाग्ने कलाकार प्राय: सबै थाहा भएका कारण मलाई केही सजिलो चाहिँ भयो । तर, दुबिधा पनि प्रशस्तै थियो, यो लिने कि ऊ लिने भनेर । जर्नेलको भूमिकामा कलाकार छान्दा राणाहरूको चालचलन थाहा भएको मानिस चाहिन्थ्यो । समजीले वर्णन गर्नुभएअनुसार उमेर खस्केको मोटो मान्छे । मेरो सोचाइमा थिए– नीर शाह र रवि शाह । यीमध्ये कसलाई लिने, निकै सोचेँ । समजीले दिनुभएको हिन्ट्सका आधारमा नीर शाहलाई छानेर यो समस्या समाधान गरेँ ।
नायिका छान्न पनि उत्तिकै गाह्रो पर्यो । रसियन कल्चर सेन्टरमा एउटा कार्यक्रम हेर्न गएको थिएँ । त्यहाँ सनी र हनी रौनियार दिदीबहिनीले नृत्य प्रस्तुत गरेको देखेँ । सनीको नृत्य मलाई राम्रो लाग्यो । चलचित्रमा जर्नेल नायिकाको सौन्दर्यमा आसक्त भएको कथा छ । त्यो सौन्दर्य पनि देखेँ सनीमा । उमेर पनि मिल्थ्यो, अनि मैले खोजेजस्तै नयाँ अनुहार नि थिइन् । त्यसैले उनैलाई नायिकाका रूपमा छानेँ । नयाँ भएकाले अभिनयमा चाहिँ गाह्रो हुने हो कि भन्ने थियो तर उनले राम्रो गरिन् ।
नायक छान्ने बेलामा झनै कठिन भो । नायक यस्तो चाहिन्थ्यो, जसको सौन्दर्य नायिका आकर्षित हुने खालको चाहिन्थ्यो । नाटकको पहिलो भागमा हिरोको सुन्दरतामा नायिका आसक्त हुनुपर्ने खालको विषयवस्तु छ भने दोस्रो भाग वियोगान्तक कथामा । त्यो वियोगान्त भूमिकामा गतिलो अभिनय गर्न सक्ने पनि चाहियो । त्यसैले ह्यान्डसम खोज्ने कि दोस्रो भागमा अभिनय गर्न सक्ने नायक छान्ने भन्नेबारे मभित्र अन्तद्र्वन्द्व चल्यो । अन्त्यमा सरोज खनाललाई छानेँ । सौन्दर्यभन्दा पनि अभिनयलाई प्राथमिकतामा राखेर उनलाई छानेँ । रोमान्सका सिनमा केही कमीकमजोरी भएछ नै भने पनि वियोगान्तमा राम्रो गर्न सक्छन् र त्यसले सबै कमजोरी ढाकिन्छ भन्ने मलाई लाग्यो । अरू पात्र पनि चलेका र थाहा पाएका छानेँ ।
अब छायांकनमा जाने बेला भयो । अरू चलचित्रजस्तो जहाँसुकै गएर छायांकन गर्ने कुरो पनि भएन । आलिसान दरबारको सेट बनाएर साध्य पनि थिएन । ठूलो दु:ख गरेर अहिलेको राष्ट्रपतिभवन छायांकनका लागि मिल्यो । त्यहाँ एक महिना छायांकन गरियो । अहिले राष्ट्रपतिले अतिथिहरूलाई भेट्न गरेको ठाउँमा दुई–तीन सिन गरिएको थियो । बैठक कोठामा गैह्रीखेतको शिरै हान्यो गीत गरियो । करिडोरलगायतमा केही सिन खिचियो । बगैँचामा सपना हो यो भनेदेखि सपनीमै मरुँ भन्ने गीत छायांकन गरियो । अहिले राष्ट्रपतिले भोज गर्ने ठाउँ त्यही हो । सुहाउने लोकेसन खोज्दै जाँदा अर्गेलीको दरबार पाल्पामा गएर पनि छायांकन गरिएको छ । रिसर्चबाहेक अन्य कार्यका लागि मात्रै ६ महिना लागेको छ ।
यसमा ६ वटा गीत छन्, सबै मैले नै लेखेको । यी गीतलाई स्क्रिप्टअनुसार मिलाउनुपर्ने भएकाले केही गाह्रो त भयो । किनभने समजीले मायाप्रेमको व्याख्यामा बीसौँ पेज खर्चनुभएको छ । ती सबैलाई छोट्याएर समेट्ने खालका गीत तयार गर्नुपथ्र्यो । यद्यपि कथा दिमागमा प्रस्टै भएकाले त्यो गीत कहाँ जोडिन्छ भन्नेचाहिँ मलाई लेख्दैखेरि थाहा थियो । संगीतमा चाहिँ शम्भुजित बासकोटालाई लिएको छु । चलचित्र चेलिबेटीदेखि नै उनैलाई लिँदै आएको हुँु । संगीत पक्ष निकै स्तरीय हुनुपथ्र्यो, जसका लागि आवश्यक बाजागाजा नेपालमा नभएकाले बम्बई पुगेर रेकर्ड गरायौँ । त्यति बेला त्यहीँ बस्दै आएका मनोहरि सिंहले यसको एरेन्ज गरिदिए । बम्बईमा रेकर्डिङ भएकाले प्राय: गीत भारतीय गायकगायिकाले गाएका छन्, आशा भोसले, अनुराधा, अभिजितलगायतले । एउटा गीतचाहिँ नेपालमै गरिएकाले फत्तेमानले गाउनुभएको छ ।
उति बेला नेपालमा अहिलेजस्तो आधुनिक प्रविधि भित्रिइसकेको थिएन । एउटा समृद्ध कृतिमा बनाइएको चलचित्र पनि स्टान्डर्ड हुनुपर्ने भएकाले हामीले यसको सम्पादन पनि मुम्बईमै गर्यौँ । मिक्सिङ मुम्बईमा गरिए पनि डबिङचाहिँ नेपालमै गरिएको हो ।
यो चलचित्रको एउटा सिनचाहिँ मैले सुटिङ गरेर पनि फालिदिएँ । चलचित्रको अन्तिममा नकुलको लास आफ्नो खुट्टामा बाँधेर नायिका नदीमा हाम फाल्ने अनि दुवै जना मर्ने सिन देखिन्छ अहिले । कथा त्यहीँ टुंगिन्छ । तर, मलाई यत्तिकै अन्त्य गर्दा मानिसले मन नपराउने हुन् कि भन्ने लागेको थियो सुरुमा । सकेसम्म मानिस खुसी हुन चाहन्छन्, सुखद् अन्त्य देख्न चाहन्छन् । त्यसैले दुइटै लासबाट दुइटा आत्मा निस्किएर एकअर्कामा मिलन हुने अनि सपना हो यो भनेदेखि सपनीमै मरुँ भन्दै हिँडेको सिनबाट चलचित्रको अन्त्य गर्ने योजना बनाएको थिएँ । सम्पादनसम्म यो सिन राखिएको थियो । तर पछि यसो गर्दा समजीको कृतिमाथि न्याय नहुने हो कि, प्रभाव कम हुने हो कि भन्ने लाग्यो । अन्तिम फाइनल प्रिन्ट गर्ने बेलामा त्यो सिन हटाइदिएँ ।
चलचित्र जब चल्यो, सबैतिरबाट प्रशंसा र तारिफ आयो । यसको सफल प्रदर्शनपछि वरिष्ठ पत्रकारदेखि टप लेभलका साहित्यकारसम्मले चलचित्रको रिभ्यु गर्न थाले । नेपालीमा पनि अन्तर्राष्ट्रिय स्तरको एउटा चलचित्र निर्माण भयो भनेर चर्चा भयो । यी कारणले म झनै उत्साहित भएँ । यसपछि पनि यस्तै चलचित्र बनाउनुपर्छ भन्ने लाग्यो र आदिकवि भानुभक्त बनाएँ ।
प्रस्तुति : कुवेर गिरी
प्रतिक्रिया