‘संगीतकार नभए शिक्षक’

बिबी अनुरागी २०५१ सालबाट लोकगीतमा संगीत भर्दै सांगीतिक क्षेत्रमा छिरेका हुन् । उनको संगीतमा २०५५ सालमा आएको उडेर जुन छुन्छु भन्थेँ बोलको गीतले निकै चर्चा पायो । अनि उनको व्यावसायिक यात्रा थप बलियो भन्यो । आधुनिक विधामा संगीत दिएको पहिलो गीत पनि उनको यही नै हो । हालसम्म पाँच हजारभन्दा बढी गीतमा एरेन्ज तथा पाँच सयभन्दा बढी गीतमा संगीत दिएका अनुरागी दर्शक श्रोतामाझ छुट्टै पहिचान बनाउन सफल भइसके ।
सांगीतिक क्षेत्रमा नआएका भए अनुरागी अहिले कुन क्षेत्रमा हुन्थे होलान् ? उनको निश्चित उद्देश्य थियो– शिक्षक बनेर राम्रा विद्यार्थीहरू उत्पादन गर्ने । बालापनमा शिक्षकहरू देख्दा आफूलाई पनि शिक्षक बन्ने मोह पलाएको उनी बताउँछन् । शिक्षणलाई पवित्र पेसा मान्छन् । छलकपट, घुसपैठको सम्भावना कम हुनु उनलाई शिक्षण मन मर्ने कारण हो । त्यसो त उनलाई शिक्षण पेसाका नालीबेली पनि थाहा रहेछन् । कारण– संगीतमा आउनुपहिले आदर्श विद्या मन्दिरमा नर्सरीदेखि ६ कक्षासम्मलाई चार वर्ष पढाएका रहेछन् । आम शिक्षकको भन्दा उनमा छुट्टै विशेषता थियो । सारंगी, बाँसुरी, मादललगायत बाजा बजाएर अध्यापनसँगै विद्यार्थीलाई मनोरञ्जन पनि गराउँथे । विद्यार्थीको चाहनाअनुसार अध्यापन गराउन सके शिक्षकको पनि उद्देश्य पूरा हुने उनी ठान्छन् । विद्यार्थीमा निहित प्रतिभाको उचित मूल्यांकन गर्दै उनीहरूको रुचिअनुसारको क्षेत्रमा अगाडि बढाउन सकिए शिक्षामा क्रान्ति ल्याउन सकिने उनलाई लाग्छ ।
यी संगीतकार इन्ट्रेस्टको विषय म्याथम्याटिक्स रहेछ । स्कुलमा पनि त्यही विषय पढाउँथे । तर, सबै विद्यार्थी म्याथम्याटिक्समै लाग्नुपर्छ, त्यसैमा दक्ष हुनुपर्छ भन्ने उनलाई लाग्दैन । खेलकुदका विषयमा इन्ट्रेस्ट र खुबी भएको विद्यार्थीलाई म्याथम्याटिक्स घोकाउनुको अर्थ हुँदैन । विद्यार्थीलाई रुचि भएकै विषयमा अगाडि बढाउँदा शिक्षा सार्थक हुने उनी ठान्छन् ।
मानौँ, अनुरागी म्याथम्याटिक्सका सबैभन्दा सफल टिचर भए र अन्य थुप्रै विद्यालयले आकर्षक सुविधाको प्रस्तावसहित बोलाए कस्तो विद्यालय छान्दा हुन् ? ‘जुन स्कुलमा विद्यार्थीले बढी रुचाउँछ, त्यहीँ जान्थेँ,’ उनी भन्छन् । चाहनाअनुसार विद्यार्थीहरूलाई निश्चित नियममा पनि बाँध्थँे भन्छन् ।
कति विद्यार्थी कक्षामै उट्पट्याङ काम गर्ने, अध्ययनमा ध्यान नदिने हुन्छन् । यसको पनि आफ्नै खालको समाधान छ उनीसँग– ‘उनीहरूको स्वभाव अध्ययन गर्दै छुट्टी र बचेको समयमा विषयगत डिसकस गराएर भए पनि अध्ययनमा लगाब राख्ने बनाइदिन्थेँ ।’ साइकोलोजी बुझेर उनीहरूकै चाहनाअनुसारको वातावरणमा अध्ययन गराउने व्यवस्था मिलाएर उट्पट्याङ विद्यार्थीहरूलाई सही ठाउँमा ल्याउने अनुरागी बताउँछन् ।
बेलाबेलामा शिक्षकहरूले साधारण कारणमै सजायस्वरूप विद्यार्थीलाई पिटेर घाइते बनाएको सुनिन्छ । यसमा शिक्षकलाई नै दोषी मान्छन् उनी । भन्छन्– ‘कतिपय शिक्षक विद्यार्थीलाई राम्रो अध्ययन गराउन छाडेर मादक पदार्थ खान जान्छन् र क्लासमा आई पनिसमेन्टस्वरूप घाइते हुने गरी विद्यार्थी पिट्छन् ।’ त्यस्ता शिक्षकहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने अनुरागीको माग छ ।
चिट चोर्न दिने विषयमा कत्तिको उदारता रहला अनुरागीको ? कतिपय अवस्थामा अभिभावकै पनि चिट चोर्न दिनुपर्छ भनिरहेका हुन्छन् । उनले भने– ‘ओहो, अन्य कुरामा पो छुट दिन सकिन्छ त, घरपरिवार नै चिट चोराउन लागे भने त यसलाई रोक्नका लागि जोडतोडका साथ लागिपर्थें ।’
अध्यापन गर्दागर्दै कुनै विशिष्ट पदमा पुग्ने अवसर पाए शिक्षाक्षेत्रको विकासमा कस्तो भूमिका खेल्दा हुन् ? ‘सबैभन्दा पहिला शिक्षामा राजनीति हाबी हुन दिन्नथे ।’ पार्टीहरूलाई विद्यार्थी संगठन बनाउनमै रोक लगाउने बताउँछन् । बेमौसमी च्याउहरूभmैँ उम्रेका शिक्षक संगठनलाई एक बनाउने काममा लाग्दा हुन् रे † नराम्रो काम गर्ने शिक्षकलाई पनिसमेन्ट अनि राम्रो काम गर्नेलाई पाँच लाख रुपियाँ पुरस्कार दिने व्यवस्था उनी मिलाउने रहेछन् ।
शिक्षण पेसाका अनुभूतिमा बगिरहेका अनुरागी त्यसबाट बाहिर निस्किए । अनि, शिक्षामन्त्रीलाई सुझाब दिन थाले– ‘शिक्षक, प्राध्यापक र कर्मचारीहरू नियुक्ति गर्ने क्रममा देखिएका नाता–कृपावादलाई रोक लगाएर व्यावहारिक शिक्षा दिने बाटो खोल्नुस् मन्त्रीज्यू †’

प्रतिक्रिया