तयार हुँदै ‘स्टुडेन्ट लाइफ’

सुर्खेत, २६ भदौ । निर्माता र निर्देशक सबै नयाँ छन् । नायक–नायिकादेखि अन्य कलाकार पनि अनुभवहीन छन् । तर, पनि सुर्खेतका केही कलाप्रेमी युवा ठूलो पर्दाको चलचित्र बनाउन जुटेका छन् । स्टुडेन्ट लाइफ नाम दिइएको यो चलचित्र स्थानीय युवा नवीन रेग्मी र विपिनकृष्ण थापाको वास्तविक घटनामा आधारित रहेको निर्माणपक्ष बताउँछ ।
‘साथीभाइले मिलेर गरौँ न त भनेपछि लगानी गरेको हुँ,’ निर्माता बलभद्र खत्री भन्छन् । सबै टिम अनुभवविहीन रहेका कारण चुनौतीपूर्ण रहे पनि मेहनतपूर्वक काम भइरहेको उनले सुनाए । नवीन र धुपेन्द्र शाहीले संयुक्त रूपमा यसको निर्देशन गरिरहेका छन् ।
धुपेन्द्रलाई पनि न त अभिनयको अनुभव छ न निर्देशनको । भन्छन्, ‘पहिले नयाँनयाँ ठाउँका रमणीय प्रकृति हेरेर यहाँ यस्तो चलचित्र सुटिङ गर्न पाए हुन्थ्यो भन्ने कल्पना गर्थें । यसबाट काम सिक्ने अवसर पाएको छु ।’
अर्का निर्देशक नवीन नयाँ टिम भए पनि चलचित्र उत्कृष्ट बनेको दाबी गर्छन् । ‘सबैले उत्तिकै मेहेनत गर्नुभएको छ,’ उनले भने । चलचित्रमा विनोद कँडेल र मेघा थापा नायक र नायिका छन् ।
छायांकन सकेर ल्याबको काममा रहेको चलचित्रमा एसएलसी उत्तीर्ण गरिसकेपछिको अवस्थामा कलेजमा केटा र केटीबीच हुने आकर्षण, मायाप्रेम र त्यसको परिणामलाई कथावस्तु बनाइएको छ । द्वन्द्व निर्देशन योगेश विसीले गरेका छन् भने संगीत रवीन गुरुङ र अशु सिंहको छ । चारवटा गीत समेटिएको चलचित्रमा सुम्निमा सिंह, अशु सिंह, गोमा बुढा र राजेश सिंहले स्वर दिएका छन् ।

प्रतिक्रिया