शिरीषसँग रिसाइन् मिनिसा

मुम्बई : बलिउड अभिनेत्री मिनिसा लाम्बा निर्देशक शिरीष कुन्दरसँग रिसाएकी छन् । चलचित्र जोकरमा निर्देशकले आफूखुसी भूमिका काँटछाँट गरेको भन्दै उनी रिसाएकी हुन् । चलचित्र प्रदर्शनमा आएपछि उनको अभिनयले चर्चा पाउला/नपाउला तर त्यसअघि नै उनले विवाद सिर्जना गरेर भए पनि केही चर्चा भने कमाइसकिन् ।
त्यसो त मिनिसा यही चलचित्रको प्रसंग निकालेर चर्चामा आएको यो पहिलोपटक भने होइन । यसअघि मुख्य अभिनेता अक्षयकुमारले पब्लिसिटीमा समय दिन नपाएपछि पूरै पब्लिसिटीभरि मिनिसाले एकलौटी राज गरेको प्रसंगले पनि उनी चर्चामा थिइन् ।
रोल छोट्याएको झोँकमा उनले निर्देशक शिरीषलाई अब आफ्नो नाम पनि हटाए हुन्छ भन्दै घुक्र्याएकी थिइन् । एजेन्सीले उनलाई उद्धृत गर्दै उल्लेख गरेको छ– ‘यसरी भूमिका काटेर बिगार्नुभन्दा मेरो पूरै भूमिका चलचित्रमा नसमेटेको राम्रो ।’ (एजेन्सी)

प्रतिक्रिया