पुरुषका लागि गर्भनिरोधक औषधिको तयारी

बच्चा जन्माउनमा महिलाको जति भूमिका हुन्छ, पुरुषको पनि उत्तिकै हुन्छ । पुरुषको वीर्यमा रहेको शुक्रकीट र महिलाको डिम्बको मिलनपछि बच्चा बन्ने प्रक्रिया अघि बढ्छ । चाहिएको अवस्थामा र चाहिएजति मात्र बच्चा जन्माउन परिवार नियोजनका विभिन्न साधन बनाइएका हुन् । ती साधन स्थायी र अस्थायी दुवैखाले छन् । पुरुषले प्रयोग गर्न सक्ने अहिलेसम्मको सबैभन्दा परिचित गर्भनिरोधक साधन हो, कन्डम । महिलाहरूका हकमा चाहिँ खाने चक्कीदेखि तीनमहिने सुईसम्म स्वास्थ्यविज्ञानले सिर्जना गरिसकेको छ । पुरुषका हकमा भने यस्ता सामग्री बनेका छैनन् । तर, अब वैज्ञानिकहरू पुरुषले प्रयोग गर्न सक्ने गर्भनिरोधक औषधि बनाउने प्रक्रियामा छन् ।
वैज्ञानिकहरू लामो मेहनत र अनुसन्धानबाट त्यस्तो औषधि बनाउन सक्ने स्थितिमा पुगेका हुन् । उनीहरूले मुसामा यसको सफल परीक्षण गरिसकेका छन् । पुरुषहरूका लागि गर्भनिरोधक औषधि नभएका कारण ठूलो संख्यामा अनियोजित गर्भधारणका घटना हुने गरेका भेटिन्छन् । यो औषधिको आविष्कारपछि त्यस्ता अनियोजित गर्भधारण कम हुने विश्वास गर्न सकिन्छ । त्यसो त वैज्ञानिकहरूलाई यो औषधि बनाउनु ठूलो चुनौती पनि थियो किनकि यसको प्रभाव रगत हुँदै सिधै अण्डकोषसम्म जानुपर्ने थियो । अमेरिकी पत्रिका सेलमा प्रकाशित सामग्रीअनुसार त्यो प्रक्रियालाई सुरुमा मुसामा परीक्षण गरिएको थियो । त्यो औषधिको प्रभावले मुसाहरूको यौनक्रियामा कुनै असर पुगेन तर उनीहरूको प्रजनन क्षमता भने अस्थायी रूपमा रोकियो ।
यसलाई मानिसमा परीक्षण गर्न भने बाँकी नै छ । यद्यपि मुसामा सफल भएपछि वैज्ञानिकहरू उत्साहित बनेका छन् । डाना फार्बर क्यान्सर इन्स्टिच्युट एन्ड बेलर कलेज अफ मेडिसिनमा अमेरिकी अनुसन्धानकर्ताहरूले ‘जेक्यू–१’ नामक औषधिको परीक्षण गरिरहेका थिए ।
खासमा औषधिले पुरुषको अन्डकोषमा मात्र पाइने एक किसिमको प्रोटिनलाई लक्षित गर्छ, जसले शुक्राणु उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । औषधि दिइएपछि मुसाहरूको अन्डकोष खुम्चिएको थियो । त्यसपछि शुक्राणुको संख्या कम हुन थालेको थियो । त्यसका साथै प्रजननक्षमता पनि अस्थायी रूपमा रोकिएको थियो ।

प्रतिक्रिया