सहमतिको प्रयासलाई कमजोरी नठानः एमाले

काठमाडौं, १० भदौं । एमालेले आन्दोलनका सहयात्रीलाई संघीयता र गणतन्त्र विरोधीको विल्ला भिराउने कार्य गरेको भन्दै एमाओवादी र कामचालउ सरकारको आलोचना गरेको छ ।
एमालेको संसदीय विभागले आज पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरेर मुलुकमा जातीय र साम्प्रदायिक सदभाव विथोल्ने प्रकारका कदम तत्कालै बन्द गर्न आग्रह गरेको छ ।
‘सहमतिको राजनीतिक निकासका लागि भएका निरन्तरका प्रयासलाई सत्तापक्षले कमजारीका रुपमा बुझ्ने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सत्ता लब्याउन थप तिकडम गरिरहने हो भने परिवर्तनकामी र लोकतन्त्रवादी शक्तिसँग निर्णायक आन्दोलनको विकल्प रहदैन ।’
एमालेले अधिनायकवादी, सर्वसत्तावादी र स्वार्थी मान्यताहरू त्यागेर सहमतिमा आउन एमाओवादी लगायत सत्तारुढ दलहरूसँग आग्रह गरेको छ । उसले राष्ट्रियताको सम्वद्र्धन, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, राज्यको अग्रगामी पुनःसंरचना, जनताको पहुँचका लागि आ–आफ्नो ठाउँमा सक्रिय र संगठित रहन आग्रह गरेको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा गठित सरकारले मुलुकमा शान्ति, संविधान, सुशासन र समृद्धि बनाउन नसकेको एमालेको आरोप छ ।
एमालेले सरकार आफ्ना चारवटै उद्देश्यमा असफल भएको बताएको छ । सरकार असफल मात्रै होइन, यसकै कारण संविधानसभा विघटन हुनु, शान्ति प्रक्रिया अलपत्र पर्नु, राजनीतिक दलका बीचमा द्वन्द्व र धु्रवीकरण निम्त्याउनु, सुशासनको साटो मुलुक कुशासनको चपेटामा पर्नु लगायतका कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सरकारको यो एक बर्षे कार्यकालमा भएका जनता र राष्ट्रका दीर्घकालीन हित विपरीतका कदम, निर्णय र गतिविधिको बारेमा जनतालाई सुसूचित गर्नु पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘छिटोभन्दा छिटो यसलाई बिदा गरेर राष्ट्रिय राजनीतिलाई सहमतिको बाटोमा फर्काउनु अपरिहार्य भएको छ ।’
माओवादी लडाकुका शिविरमा भएको अरबौं भ्रष्टाचारको तथ्य सार्वजनिक गर्ने पूर्व माओवादी लडाकू आफै असुरक्षित नरहेको एमालेले जनाएको छ ।
विपक्षीले शिविरका भ्रष्टाचारको प्रश्न उठाउँदा सहमति भंग हुने चेतावनी प्रधानमन्त्री भट्टराईले दिएकाले राज्यका बैधानिक निकाय मार्फत् त्यसमाथि छानविन हुने ढोका बन्द भएको एमालेको आरोप छ ।

प्रतिक्रिया