काठमाडौं, ३१ साउन । उपत्यकाको एक निजी विद्यालयमा कार्यरत शिक्षिका ज्योति शाहीले नसोधी चिउरा खाएको निहुँमा घरेलु कामदार १२ वर्षीया बालिकालाई चरम यातना दिएकी छन् । कोटेश्वरस्थित सरस्वती उच्च माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत प्युठान टकुराकी १२ वर्षीया सुस्मिता कुमाललाई शाहीले निर्मम यातना दिएकी हुन् ।
कुटाइका कारण कुमालको ढाडमा गम्भीर चोट लागेको छ । दुवै हातमा नीलडाम छ भने देब्रे खुट्टामा पनि चोट लागेको छ । पीडित कुमालका अनुसार शाहीले नसोधी चिउरा खाएको निहुँमा यातना दिएकी हुन् । महानगरीय प्रहरी वृत्त बानेश्वरमा मंगलबार भेटिएकी कुमालले भनिन्, ‘मै’सापले चिउरा चोरेको भन्दै लठ्ठी भाँचिउन्जेल कुटिरहिन्, म रोइरहे, छुटाउन कोही आएन ।’ कुमालका अनुसार स्कुलबाट छुटेलगतै घर पुगेकी उनले मालिक शाहीलाई नसोधी चिउरा खाएकी थिइन् । चिउरा खाँदाखाँदै भेटेपछि शाहीले कुमाललाई घाँटीमा घिच्याउँदै लठ्ठीले जथभावी कुटेकी थिइन् । पोल खुल्ने डरले शाहीले कुमाललाई एक सातासम्म विद्यालयसमेत नजान भनेकी थिइन् । ‘चिउभर चोट लागेपछि मै’सापले मलाई घरमा काम छ, एक सातासम्म स्कुल नजानू भनिस्यो’ कुमालले भनिन् ।
शाहीले पनि बालिकालाई कुटेको स्वीकार गरिन् । ‘छोराछोरीलाई त पिटिन्छ भने उनलाई पिट्दा के हुने हो र ? शाहीले सौर्यसँग प्रतिप्रश्न गरिन् । भनेको नटेर्ने, चोर्ने बानी भएकाले आफूले पिटेको उनको दाबी छ । आफूले दिल्लीबाट फाइनान्समा डिप्लोमा गरेको दाबी गर्ने उनले समाचार बाहिर नल्याउनसमेत भनिन् । ‘घटना कसरी प्रहरी कहाँ पुग्यो ? समाचार बाहिर नल्याउनु होला,’ उनले चेतावनीको शैलीमा भनिन् । प्युठान स्थायी घर भई कोटेश्वरमा बस्ने शाही काठमडौंको एक निजी विद्यालयकी शिक्षिका हुन् । उनका श्रीमान् सरकारी कार्यालयका उच्चतहका कर्मचारी हुन् ।
मंगलबार बिहान विद्यालय जाने समयमा शाहीले कुमाललाई पुतली सडकस्थित एक फोटो स्टुडियोमा फोटो लिन पठाएकी थिइन् । एक सातासम्म विद्यालय जान नपाउने भएपछि बिदा मिलाउनका लागि कुमाल फोटो लिन जानुभन्दा अघि विद्यालय पुगेकी थिइन् । विद्यालयमा विनापोसाक पुगेकी कुमाललाई साथीभाइले सोधपुछ गरेपछि मात्रै उनी मालिक्नीबाट कुटिएको रहस्य खुलेको थियो । विद्यालयकी शिक्षिका तथा मनोविमर्शकर्ता गीता सापकोटाका अनुसार कुमाल विद्यालयको पोसाकविनै आएपछि उनका कक्षा शिक्षिका सरस्वती खड्काले ‘किन आउट ड्रेसमा आएको’ भनी सोधेकी थिइन् । एक्कासी रुन थालेपछि के भयो भनेर नियाल्दा शरीरभर नीलडाम भेटेकी थिइन् । हातभरि नीलडाम भएपछि उनलाई विद्यालयका प्रधानाध्यापक कहाँ लगिएको थियो । ‘बालिकालाई यसभन्दा अघि पनि यातना दिँदै आएको र जानकारीमा आएअनुसार शाहीले हातमा जुन वस्तु भेटियो त्यसैले रिस नमरुन्जेल कुट्ने गर्थिन्,’ शिक्षिका सापकोटाले भनिन् ।
पीडित बालिका कुमालले पनि आफूलाई यसअघि पनि मालिक्नीले पिट्ने गरेकी बताइन् । भनिन्, ‘मै’सापले कपाल भुताल्ने, रोटी बेल्ने बेल्नाले हान्ने, लठ्ठीले हान्ने, लात्तीले हान्ने गरिसिन्थ्यो ।’ शाहीले काम गरिन भनेर उनलाई पिट्ने गर्थिन् । उनका अनुसार भाँडा माझ्ने, बाथरुम सफा गर्नेदेखि घरको सबै काम गर्नुपथ्र्यो ।
प्रतिक्रिया