अस्पतालमा दुई प्रमुख

नेपालगन्ज, २३ साउन । मध्य र सुदूरपश्चिमकै ठूलो मानिने भेरी अञ्चल अस्पतालमा दुईजना प्रमुख भएपछि दैनिक प्रशासनिक कामकाज प्रभावित भएको छ । प्रमुखकै विवाद भएपछि बिरामीको उपचार सेवा पनि अस्तव्यस्त बनेको छ ।

कारबाहीस्वरूप स्वास्थ्य मन्त्रालयमा काज फिर्ता बोलाइएका निमित्त प्रमुख एकाएक पुन: अस्पतालमा हाजिर भएपछि अञ्चल अस्पतालले दुईजना प्रमुख पाएको हो । कर्मचारीको आन्दोलनको दबाब थेग्न नसकेपछि निमित्त प्रमुख डा.नरेन्द्र रायलाई १ साउनमा मन्त्रालयमा काज फिर्ता बोलाएको थियो । उनका ठाउँमा मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनोद खेतानलाई निमित्तको जिम्मेवारी दिइएको थियो ।
तर, आइतबारदेखि डा. राय अस्पतालमा हाजिर भएर निमित्त प्रमुखकै हैसियतमा काम गर्न थालेपछि अस्पतालमा दुईजना प्रमुख भएका हुन् । मन्त्रालयले काज फिर्ता बोलाएको झन्डै महिना बित्दासमेत डा. रायले खेतानलाई प्रमुखको कार्यकक्षको साँंचो र अन्य कागजात बुझाएका छैनन् ।
आइतबार रायले कार्यालय खोलेर प्रमुखको कुर्सीमा बसेर कर्मचारीलाई आफ्नो निर्देशनमा मात्र काम गर्न आदेश दिएका थिए । मन्त्रालयको कुनै निर्णयविना रायले प्रमुख भन्दै कार्यकक्ष ओगटेपछि कर्मचारी अन्योलमा परेका छन् । उनले नि:शुल्क औषधि वितरण, स्टोरका सामान तथा आर्थिक लेनदेनका विषयमा समेत सिफारिस दिइरहेका छन् ।
‘खेतानलाई प्रमुखको जिम्मेवारी दिइरहेका बेला डा. रायले पनि प्रमुख भनिरहनुभएको छ,’ अस्पतालका स्टोरकिपर पदम लम्सालले भने, ‘हामीले कसलाई आधिकारिक मान्ने हो ?’ आर्थिकसम्बन्धी सबै अधिकार खेतानलाई भएकाले रायले गरेका सिफारिस आफूहरूले मान्न नसकिएको खनालले बताए ।
डा. राय अस्पतालमा हाजिर भएपछि खेतान डाक्टरको मिटिङ हलमा बसेर आफ्नो काम गरिरहेका छन् । उनी अस्पताल प्रमुखको कुर्सीमा बस्नसमेत पाएका छैनन् । सबै कर्मचारीको समर्थन रहेकाले खेतानबाटै सिफारिस र कामहरू भइरहेको छ ।
‘मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्दै छु,’ खेतानले भने, ‘मलाई कसैसँग विवाद गर्नु छैन ।’ खेतानले मन्त्रालयले निमित्तको जिम्मेवारी दिएको पत्रका आधारमा आफूले निमित्त प्रमुखको काम गरिरहेको बताए ।
अञ्चल अस्पतालमा सबैभन्दा वरिष्ठ डा. रायलाई निमित्त प्रमुखको जिम्मेवारी दिएपछि अस्पतालमा विवाद बढेको थियो । भ्रष्टाचार तथा कर्मचारीलाई जथाभावी सरुवा गरेको भन्दै डा. रायको विरोधमा कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिएपछि मन्त्रालयले १ साउनमा अर्को व्यवस्था नभएसम्म उनलाई मन्त्रालयमा काज बोलाएको थियो ।
पत्रका आधारमा राय गत बुधबारसम्म मन्त्रालयमा हाजिर भएर नेपालगन्ज फर्किएका हुन् । रायले आफूलाई विशेष कामले मन्त्रालयमा बोलाइएको र त्यो अवधिका लागि मात्र खेतानलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको दाबी गरे । ‘अब त म आइसकेँ,’ उनले भने, ‘निमित्त प्रमुखको विवाद गर्ने विषय नै होइन ।’
डा. खेतानले मन्त्रालयले रायलाई पुन: निमित्त प्रमुखको जिम्मेवारी दिए/नदिएको पत्र नपठाएकाले आफूले पद नछाड्ने बताए । ‘मन्त्रालयले त्यस्तो पत्र पठाएको छ भने म तत्कालै जिम्मेवारी छाड्छु,’ उनले भने ।

डाक्टर छैनन् जिल्ला अस्पतालमा
भैरहवा : रूपन्देहीको जिल्ला अस्पताल भीम अस्पताल भैरहवामा दरबन्दीअनुसारका डाक्टर नहँुदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा दैनिक एक सय २० भन्दा बढी बिरामी उपचारका लागि आउने गरे पनि डाक्टरको अभावमा सेवा प्रभावित भएको हो ।
विसं १९९० मा स्थापित भीम अस्पतालमा सात विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि दुई डाक्टरले मात्र काम गरिरहेका छन् । अस्पतालमा फेमिली फिजिसियन डा.मनोहर जोशी र डा.पदम अधिकारी मात्र कार्यरत छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका जोशीले दरबन्दीअनुसारका डाक्टर नहुँदा समस्या थपिएको बताए । उनले भने, ‘दरबन्दी छ तर डाक्टर छैनन् । विशेषज्ञ डाक्टर नहुँदा सामान्य अप्रेसन गर्न पनि समस्या रहेको छ ।’
अस्पतालमा एक स्त्री तथा बालरोग विशेषज्ञ र चार मेडिकल अफिसरको दरबन्दी पदपूर्ति नहुँदा अस्पतालको सेवा प्रभावित भएको हो । स्वास्थ्य मन्त्रालयले डाक्टर पठाए पनि अस्पताल नआई काज मिलाएर काठमाडौं बस्ने गरेकाले अस्पतालको सेवा प्रभावित भएको हो । दरबन्दीमा रहेकी डा.बिना प्रजापति मानन्धर काज मिलाएर कान्ति बाल अस्पताल काठमाडौंमा बसेकी छन् । अस्पताल २५ शय्याको रहेको छ । अस्पतालमा रूपन्देहीको मर्चवार, धकधई, मधवलिया, पडसरी, लुम्बिनी, वसन्तपुरलगायतका ग्रामीण क्षेत्रका सेवाग्राही आउने गरेका छन् । जिल्लामै धेरै सेवाग्राही आउने जिल्ला अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नहुँदा समस्या परेको अस्पताल विकास समितिका अध्यक्ष आनन्दप्रसाद गुप्ताले बताए । (सौस)
पाँच डाक्टर काममा फर्किए
दाङ : २३ साउनदेखि एकैपटक बिदामा बसेका राप्ती उपक्षेत्रीय अस्पतालका पाँच विशेषज्ञ डाक्टर आइतबार काममा फर्किएका छन् ।
चार दिनको बिदामा उनीहरू बिदा लेखिएको मिति सकिएपछि काममा फर्किएका हुन् । आइतबारदेखि अस्पतालका छालारोग विशेषज्ञ डा.प्रताप पोखरेल, रेडियोलोजिस्ट डा.मुक्ति खनाल, अर्थोपेडिक डा.किरण खनाल, स्त्रीरोग विशेषज्ञ डा.सन्देश पौडेल काममा फर्किएका हुन् ।
अन्य तीन विशेषज्ञ डाक्टर भने काममा फर्किएका छैनन् । उनीहरू नफर्कनुको कारण नखुलेको अस्पतालका प्रशासन प्रमुख केसीले बताए । अस्पतालमा पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट फिजिसिएन डा.विष्णु पौडेल, सर्जन डा.प्रवीण श्रेष्ठ र एनेस्थिया डा.रामपुकार शाह काममा फर्किएका छैनन् ।
बिदामा बसेका डा.पौडेल जिल्लामा नफर्कने बताएका छन् । सौर्यसँग कुरा गर्दै उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा व्यक्तिगत काम छ, पूरा नहुँदासम्म फर्कन्न ।’ मन्त्रालयमा व्यक्तिगत कामका प्रकृतिबारे उनले खुलाउन चाहेनन् । उपक्षेत्रीयका मेडिकल सुपरिटेन्डेन्ट डा.विकास देवकोटाले डा.पौडेलबाहेक अस्पतालमा उपस्थित नभएका दुवै डाक्टर सोमबारदेखि आउने बताए ।
यस्तै, एक साताअघि उपक्षेत्रीयको मेडिकल सुपरिटेन्डेन्टको पद सम्हालेका स्त्रीरोग विशेषज्ञ डा.देवकोटालाई काजमा बोलाएको बताइएको छ । अस्पतालमा यसबारे आधिकारिक जानकारी नआए पनि अस्पतालको विवाद साम्य पार्न डा.देवकोटालाई मन्त्रालयमा बोलाइएको हुन सक्ने अस्पताल स्रोतको भनाइ छ तर डा.देवकोटाले यसबारे कुनै जानकारी नआएको बताए । (सौस)

प्रतिक्रिया